— नारी … कविता

आदिबासी जनजाति महिला महासंघ बेलायत द्वारा १०४ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा  ८ मार्च  २०१४ का दिन आयोजना गरिएको ,”नारी “शिर्षक खुल्ला कविता बाचन प्रतियोगितामा ,गोमा सुनुवार , भोजपुर (हाल कुवेत) निवासी प्रथम भएका थिए ।

अनलाइन मार्फत प्राप्त कविताको बाचन  वरिस्ठ साहित्यकार ,कवी तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका  महासचिव नरेश कांगमांग राईले गरेका थिए ,निर्णायक मण्डलमा संयोजक बरिष्ठ साहित्यकार गणेश राई,कवी तथा गायक भगवान चामलिंग राई,गजलकार नारायण गाउले रहेका थिए । 

 

गोमा सुनुवार ,भोजपुर (हाल कुवेत) 

 

 

 

 

 

 

 

 

यो यूगको अनादिकाल देखी  

छातीभरी ममता बोकेर

आकाश झै फराकिलो आंचल

घाम झै उज्यालो देह बोकेर  

आफु माटो भएर

माटो जस्तई मरेर

माटो जस्तई बांचेर  

माटो झै सहनशील  

माटो झै उर्जावान

माटो झै सुगन्धित

 

हो नारी माटो हुन् !

 

ओझेल लाग्न लागेका सपनाका तांती खैचिएर  

आफूतिर बांडीदिन्छिन सन्तानलाई र नै

सन्तानका ओठमा बिपना मुस्काउछ

आफु पला-पला आँखाबाट

कोशी झै बगेपनी

ओठ भरी मुस्कान फुलाएर  

फूल जस्तई बांचिदिन्छिन्  

फूल जस्तई फूलेर  

फूल जस्तई कोमल  

फूल जस्तई कन्न्चन  

फूल जस्तई मोहक

 

हो नारी फूल हुन् !

 

सागरले आफ्नो बिशालता भित्र  

कैद गरेको हुन्छ बिबिधतालाई  

घामका प्रकाश आफुमा समेटेर

बिम्बित बनिदिन्छ मरुभुमिमा

ठीक त्यसरी नै

दु:खका रापिला किरण

आफुमै समेटेर

खुशी र सुख बिम्बित हुन्छिन्  

सन्तान र जगतका खातिर  

आफु हुनु र नहुनुको  

हिसाब किताब हुन्न

उनको आफ्नाहरुको हुनु मै  

जोड घटाऊ गरिरहन्छिन्  

सागर जस्तई छल्केर

सागर जस्तई स्निग्ध  

सागर जस्तई सौम्य  

सागर जस्तई अमूर्त

 

हो नारी सागर हुन् !

 

समयको जांतोले

जती पिसोस उनको देह

उनको आँखाको चमक

कहील्यै घट्दैन् |

नियतिको गेग्र्यानले

जती घोटोश

उनको पैताला

दरिलो गरी बढेका पाइला

कहिल्यै रोकिदैन् |

सुनगाभा झै फुलेर

नदी झै बगेर

जून जस्तइ चम्केर

हावा झै बहेर  

यो संसार धनीरहन्छिन् !

 

हो नारी सम्पूर्णता हो

हो नारी आमा हो !!