देब पचभैया
पाल्पा, फागुन १५ – नेपालमै पहिलो पटक पाल्पालाई पूर्ण खोप युक्त सुनिश्चित जिल्ला घोषणा गरिएको छ । करीव ६ महिनाको प्रयासमा ६५ वटा गाविस र एक नगरपालीकामा रहेका सम्बन्धीत वालवालीकालाई पूर्ण खोप लगाउन सफल भएको हो ।
जिल्लाको ६५ वटै गाविसका गरी एक वर्ष मुनिका ५ हजार ५ सय ८८ र १२ देखि २३ महिनाका ४ हजार ५ सय १९ जना वालवालीकालाई पूर्णखोप लगाईको खोप सुपरभाईजर लक्ष्मेश्वर झाले जानकारी दिए । यस्तै तानसेन नगरपालीका भित्रका रहेका ३ सय ५३ जना वालवालीकाले यो खोप लगाएका छन् ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले नेपालको स्वास्थ्य सेवालाई जनमुखी बनाउनुपर्ने बताए । जोशीले दुर्गम क्षेत्रमा समेत गुणस्तर स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए । यस्तै विश्व स्वास्थ्य संघ आई.पि.डी. महाशाखा प्रमुख राजेन्द्र बोहोराले नेपालमै पहिलो जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित घोषणा हुन सकेकोमा पाल्पा र पाल्पालीलाई बधाई दिदै यसलाई नमुनाको रुपमा निरन्तरता दिन सफल हुनुहोस भन्ने शुभकामना दिए ।
बालस्वास्थ्य महाशाखा प्रमुख शुम्भु ज्ञवालीले विना वजेट स्थानीयको सक्रियतामा यो अभियानलाई सफल पार्न सकेको भन्दै सरकारले वजेट दिएका जिल्लालाई चुनौती थपिदिएको दावी गरे ।
कार्यक्रममा पश्चिमाञ्चल स्वास्थ्य सेवाका निमित्त प्रमुख रामचन्द्र ढकाल, सकारात्मक सोचका अन्तराष्ट्रिय प्रमुख नरवहादुर कार्की, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष सालीकराम पाहारी लगायतले यसलाई दिगोपना दिनको लागि सबैलाई आग्रह गरेका थिए ।
