मनोज घर्तीमगर / पोखरा
पोखरा–नेपाल पत्रकार महासंघ कास्कीको फागुन १७ गते हुने ९औं अधिवेशनको पुर्वसन्ध्यामा कास्कीका आदिवासी जनजाति पत्रकारहरुको सोमबार पोखरामा भेला सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको आयोजनामा भएको भेलाले नेपाल पत्रकार महासंघ कास्कीको आगामी कार्यसमितिको निर्वाचनमा उमेदवार बन्ने आदिवासी जनजाति पत्रकारहरुलाई बिजयी गराउने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीको नेतृत्व गर्ने हालसम्म कुनै आदिवासी जनजाति पत्रकारहरुले अवसर प्राप्त नभएकाले आउदो अधिवेशनमा अध्यक्ष लगायतका उमेदवार बन्ने आदिवासी जनजाति पत्रकारहरुलाई विजयी गराउनुका साथै पत्रकार महासंघलाई पुर्ण समावेशी गराउन पहल गर्ने दिने निर्णय गरेको छ ।
फोजिनमा आबद्ध पत्रकारहरु कांग्रेस निकटको प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, एमाओवादी निकट क्रान्तिकार पत्रकार संघ, नेकपा–माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ र स्वतन्त्र पत्रकार संघका सदस्यमा विभाजित भए पनि पहिलो पटक आफ्नै समुदायका उम्मेदवारलाई जिताउन कस्सिएका छन् ।
सँधै अरुलाई जिताउन भोटरको भूमिका निभाउँदै आएका आदिवासी जनजाति पत्रकारहरुलाई महासंघमा सँधै पाखा लगाउने काम भएपछि उनीहरु पहिलो पटक यस्तो कडा निर्णय गर्न बाध्य एका हुन् । यो निर्णयले कास्की महासंघमा आदिवासी जनजाति पत्रकारहरुको पनि प्रतिनिधित्व हुने संभावना बढेको छ । महासंघको सदस्यमा ३ सय १७ भए पनि २ सय ७६ जनाले मात्रै सदस्यता नविकरण गरेका छन् । यी मध्ये ६६ जना आदिवासी जनजाति पत्रकारहरु रहेका छन् । के कास्की महासंघमा आदिवासी जनजाति पत्रकारले मार्लान् त बाजी ? १७ गते कुर्नेपर्ने देखिन्छ ।
