गोविन्द घर्ति
बुटवल,फागुन २ – सहीद लखन थापालाई राज्यले सहीद घोषणा गरे पनि प्रथम सहीदको दर्ज्यानि दिन नसकेको रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले सहीदहरु राष्ट्रको विभूति भएकोले सहीदलाई राज्यले सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।
सहिद लखन थापामगर स्मृति दिवस मूल तयारी समिती रुपन्देहीले बुटवलको राजमार्ग चौराहमा आयोजना गरेको १ सय ३७ औं स्मृति दिवस कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो कार्यक्रममा बुटवल नगरपालिका बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका माहासचिव केशव सुर्यवंसी, नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य भोज बहादुर बुढाथोकी, नेकपा–माओवादीका बसन्त श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, थकाली सेवा समितिका जिल्ला अध्यक्ष शिव प्रसाद शेरचन, नेपाल भुजेल सघंका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र भुजेल, तमू, ह्युल छोंज धींका जिल्ला अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग, नेपाल राष्ट्र बैङ्कका स–प्रबन्धक खेम पुन, नेपाल मगर संग नगर समितिका अध्यक्ष किसन बहादुर थापा लगाएतले बोल्दै सहीद लखन थापा प्रति राज्यले वेवास्ता गरेको बताएका थिए ।
प्रथम सहिद लखन थापामगर स्मृति दिवस मूल तयारी समिती रुपन्देहीका अध्यक्ष माथवर सिं सलामीको अध्यक्षतामा नेपाल मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीका उपाध्यक्ष गीता सारुमगरको स्वागत र जिल्ला सदस्य कमल थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
