मनोज घर्तीमगर / पोखरा
पोखरा, २५ माघ , कारागारमा रहेका आमाबाबुका सन्तानको उद्धार र हेरचाहमा दुई दशक काम गरेकी इन्दिरा रानामगर वल्र्ड चिल्ड्रेन्स पुरस्कार मनोनयनको उत्कृष्ट तीनमा परेकी छिन् । स्विडेनस्थित वल्र्ड चिल्ड्रेन्स प्राइज फाउन्डेसनले बालबालिकाको क्षेत्रको काम गर्ने व्यक्तिलाई दिने गर्छ । बालबालिकाको क्षेत्रमा काम गर्नेलाई दिईने यो पुरस्कार विश्वकै प्रतिष्ठित मानिन्छ । पुरस्कार राशी एक लाख अमेरिकी डलर हो ।
उत्कृष्ट तीनमा इन्दिरासँगै पाकिस्तानी बालिका मलाला युसुफजाई र अमेरिकी नागरिक जोन उड पनि छनौट भएका छन् । जन्मकैद पाएका अभिभावकका छोराछोरीको उद्धार गरि उनीहरुलाई शिक्षा दिन सन् २००० मा प्रिजनर्स एसिसटेन्ट नेपाल (पिए) संस्था खोलेर इन्दिराले काम थालेकी थिइन् । उनले जेलमा रहेका अभिभावकका बालबालिकालाई शिक्षा, स्वास्थ्य, कानुनी सहयोगका साथ सीपमूलक तालिम दिँदै आएकी छिन् । यसअघि इन्दिराले पारिजातसँगै अन्य सँस्थामा पनि बालबालिकासँगै काम गरेकी थिइन् । उनले बालबालकिा क्षेत्रमा काम गरेको २३ वर्ष भइसकेको छ ।
बाल्यकालमा भोगेको पीडा र गरिबीले समाजसेवामा लाग्न प्रेरित भएकी इन्दिरा मनोनयनमा परेपछि निकै उत्साहित भएकी छिन् । ‘म मनोनीत हुनु नै ठूलो कुरा हो’ उनले भनिन्‘विश्वमै बालबालिका क्षेत्रमा काम गर्ने तीन जनामा मनोनित हुन पुरस्कृत हुनुसरह हो ।’
इन्दिराको संस्थाबाट नेपालभरका चार सयजना बालबालिका र ६० परिवार लाभान्वित छन् । उनले बालबालिकाका साथै जेलमा रहेका आमाहरूलाई पनि शिक्षा दिने गरेकी छिन् ।
मनोनयनमा उत्कृष्ट हुने व्यक्तिलाई अक्टोबरमा स्विडेनमा हुने कार्यक्रममा त्यहाँकी महारानीले पुरस्कृत गर्ने कार्यक्रम छ । उत्कृष्ट तीनमा पर्ने सबै सम्मानित हुनेछन् । सन् २००२ मा माइती नेपालले उक्त पुरस्कार पाएको थियो ।
(सानो छदा इन्दिरा राना मगर)
मनोनीत भएकी अमेरिकी नागरिक उडले विश्वका बालबालिकालाई स्कुल जाने अवसर दिने सपना पूरा गर्न माइक्रोसफ्ट कम्पनीबाट म्यानेजरको जागिर छाडेका हुन् भने पाकिस्तानमा तालिवानको आक्रमण परेर बाँचेकी मलालाले बालिका शिक्षा अधिकारका लागि लडिरहेकी छिन् ।
यो पनि पढ्नूहोस् :
http://worldschildrensprize.org/indiraranamagar#76
भोटको लागी यो लिंकमा जानुहोस : http://worldschildrensprize.org/global-vote#76.World’s Children’s Prize – Ballot —