पाल्पाका ४ वटा गाविस एउटै मञ्चबाट पूर्ण साक्षर गाविस घोषणा

Read Time:4 Minute, 35 Second

देब पचभैया पाल्पा,

माघ १० , पाल्पाको भैरवस्थान स्रोत केन्द्र अन्तर्गत पर्ने ४ वटा गाविसलाई आज एक कार्यक्रमको आयोजना गरी पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समुहलाई आधार मानेर पूर्णसाक्षर गाविस घोषणा गरिएको हो ।

भैरवस्थान, खस्यौली, बन्दिपोखरा र देउराली गाविसलाई पूर्ण साक्षर घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि अनौपचारीक शिक्षा निर्देशनालयका महानिर्देशक बावुराम पौडेलले २०७२ सालसम्म पुरै नेपाललाई पूर्ण साक्षर देशको रुपमा घोषणा गर्ने उद्देश्यले यो अभियानलाई राष्ट्रिय अभियानको रुपमा अगाडी बढाएको बताउनुभयो । उहाँले अझैपनि नेपालमा ३१ लाख ७३ हजार निरक्षर रहेको समेत बताउनुभयो । आगामी वैशाख देखि वाँकी निरक्षरलाई ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरुले पढाउने व्यवस्था गरिएको समेत जानकारी दिनुभयो ।

वाँकी निरक्षरलाई साक्षर बनाउनको लागि कक्षा ९ र १० का विद्यार्थीले पढाउने छन् पौडेलले भन्नुभयो उनिहरुलाई पढाए वापत विद्यार्थीलाई एस.एल.सी. मा १० नम्बर थपिदिने निर्णय सरकारले गरेको छ । उहाँले नेपालमै पहिलो स्रोतकेन्द्रको रुपमा साक्षर घोषणा गर्न सफल भएको त्यस क्षेत्रका नागरिकलाई बधाई समेत दिनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि स्थानीय विकास अधिकारी दीर्घवहादुर पोख्रेलले अव वृद्धभत्ता बुझ्दा र मतदान गर्ने मतपत्र लिदा यी गाविसहरुमा औंठाछाप नभई सबैको लिखित हस्ताक्षर हुनुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले सरकारले शिक्षामा प्रयाप्त लगानी गरेको भन्दै यसलाई उपलब्धीमूलक बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्लाको शैक्षिक इतिहाँसलाई बचाईराख्नको लागि गुणस्तरीय शिक्षामा वढि ध्यान दिन जरुर रहेको भन्दै यो अभियान सफल पार्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य विधान श्रेष्ठ, नेकपा एमालेका सचिव ओमवहादुर घर्तिमगर, एकिकृत नेकपा माओवादीका बलु गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलवहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष सोमकुमार कार्की, अखन्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, जिल्ला शिक्षा कार्यालयका उपसचिव दिपेन्द्र ढकाल, शिक्षक युनियनका अध्यक्ष लक्ष्मण बश्याल लगायतले घोषणा कार्यक्रमलाई व्यवहारमै लागु गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा खस्यौली र भैरवस्थान गाविसबाट फागु नाच, बन्दिपोखरा गाविसको सरायनाच, देउराली गाविसको भजन लगायत विभिन्न झाँकी प्रस्तुत गर्नुको साथै र्याली समेत निकालिएको थियो । भैरवस्थान स्रोतकेन्द्रका अध्यक्ष तथा भैरव जनता उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा गाविसका सचिव वसन्त गोदारले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आदर्श उमावि देउरालीका प्राचार्य सरोज नेपालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति मिनप्रसाद ढकालले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %