मान्छेले खाने दुध खोरेतले खाँयो

Read Time:5 Minute, 12 Second

 रुपन्देही / देवदह,

माघ ९ , रुपन्देहीको दुध उत्पादनको महत्वपूर्ण क्षेत्रहरुमा पालिएका पशुहरु खोरेत रोगको संक्रमण फैलिएको छ । रुपन्देहीको देवदह, केरवानी, मक्रहर, शंकरनगर लगायतका क्षेत्रहरुमा खोरेत रोगको संक्रमण देखिएको छ । खोरेत रोगको संक्रमणको कारण पशुको दुध उत्पादन क्षमतामा धेरै मात्रामा ह्रास आएको किसानहरुको भनाई रहेको छ । देवदह–४, सुनकौडामा लामो समय देखि व्यवसायीक पशुपालन गर्दैं आउनु भएका किसान विष्णुप्रसाद ज्ञवालीले खोरेत रोगको कारण ६० प्रतिशत  दुध उत्पादन घटेको बताउनु भयो । उहाले रोग नलाग्दा दैनिक १ सय २५ लिटर दुध विक्रि गर्ने गरेकोमा खोरेत रोगको संक्रमण पछि दुध घटेर ४० लिटरमा झरेको बताउनु भयो । आफनो फर्ममा रहेका ३५ वटा पशुहरुमा खोरेत रोगको संक्रमण देखिएको किसान ज्ञवालीले बताउनु भयो

। आफनो फर्ममा पनि खोरेत रोगको संक्रमण देखिएपछि दुध उत्पादन घटेको अर्का किसान कृष्ण ज्ञवालीको भनाई रहेको छ । रोगको संक्रमण फैलिरहेको अवस्थामा समेत प्रविधिकहरुले रोग नियन्त्रणको लागि कुनै चासो नदेखाएको किसान ज्ञवालीको भनाई रहेको छ । देवदह क्षेत्रमा विगत १ बर्ष अगाडि देखि खोरेत रोगको संक्रमण रहेको ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता रहेका विष्णु ज्ञवाली बताउनु हुन्छ । राज्यको आधिकारीक निकाय जिल्ला पशुसेवा कार्यालयले दुधालु गाई बृद्धि कार्यक्रम अन्र्तगत लगाईएको खोपले समेत काम नगरेको ज्ञवालीको भनाई रहेको छ ।

करिव २ महिना अगाडि देखि देवदह क्षेत्रमा खोरेत रोगको समस्या देखिएको पशुसेवा केन्द्र देवदहका ईन्चार्ज धु्रव प्रसाद चौधरीको भनाई रहेको छ  । देखा परेकै समयमा जिल्ला पशु सेवा कार्यालय रुपन्देहीलाई जानकारी गराएपनि रोग नियन्त्रणका लागि पहल नभएको ईन्चार्ज चौधरीको भनाई रहेको छ । खोप लगाएका फर्महरुमा समेत खोरेत रोग देखिएको कारण खोपको परभावकारीता नभएको ईन्चार्ज चौधरी बताउनु हुन्छ । खोप लगाउने कुरामै खोप छनौटको लागि सामान्य विवाद उत्पादन भएको चौधरीको भनाई रहेको छ । खोरेत रोगको संक्रमण देखा परेपछि रोग नियन्त्रणको लागि रिङ्ग भ्याक्सीनेशन गर्न निर्देशन दिएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. लक्ष्मण ढकालले बताउनु भयो ।

उहाले जिल्ला पशुसेवा कार्यालय संग श्रोत नभएको कारण किसानहरुले नै खोप खरिद गरेर आफना पशुहरुलाई खोप लगाउनु पर्नेमा जोड दिनु भयो । जिल्ला पशुसेवा कार्यालयले निसंक्रमण गर्न केही औषधी वाहेक अन्य औषधीको सुविधा दिन नसक्ने डा. ढकालले बताउनु भयो । शुरुमा देवदह क्षेत्रमा देखिएको खोरेत रोगको संक्रमणको वारेमा जानकारी भएपनि रोग नियन्त्रणका उपायहरु अपनाई सकेपछि समस्य समाधान भएको आफुले जानकारी प्राप्त गरेको डा. ढकालको भनाई रहेको छ । खोप लगायका पशुफर्महरुमा समेत खोरेत रोग देखिएको स्वीकार गर्दै डा. ढकालले नियन्त्रणका लागि प्रयास गर्ने बताउनु भयो ।

खोरेत रोग लगाउने विभिन्न प्रजातिका भाईरसहरु मध्ये कुन प्रजातिले रोग लगाएको भन्ने जिल्ला पशुसेवा कार्यालय संग एकिन जानकारी छैन । भाईरसको पहिचानका लागि प्रयोग शालामा परिक्षण गर्नु पर्ने हुन्छ तर जिल्ला पशु सेवा कार्यालयले भाईरस पहिचान गरी रोग नियन्त्रण गर्नु भन्दा पनि नीजि प्राविधिहरु र किसानलाई देखाएर उम्किन खोजेको छ । खोरेत रोगका कारण किसानको अरर्वौ रुपैयाको क्षति हुन सक्ने हुदा यस तर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।

गोविन्द घर्ति /देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %