देवदह / रुपन्देही,
माघ ६ , राष्ट्रिय जनमुक्ति पार्टीले उठाएको मुद्दा अहिले राष्ट्रिय मुद्दा भएकाले आफुहरुको जित भएको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले दावी गरे । उनले आदिवासी, जनजाति, पिछडावर्ग, दलित र मधेशीहरुको हक अधिकार स्थापित नहुदा सम्म देशले दीगो शान्ति नपाउने बताए।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले पार्टीको २४ औं स्थापना दिवसको अवसरमा रुपन्देहीको शंकरनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन । नेता सूर्यवंशीले नेपालीहरुको पक्षमा संविधान निर्माणको लागि दवाव दिनु पर्नेमा जोड दिए। हिजोका साम्प्रदायिक शक्तिहरु संविधान सभामा छिरेकाले जनताको पक्षमा संविधान निर्माण हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको नेता सूर्यवंशीले दावी गरे ।
पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव चन्द्रबहादुर श्रीष, संघीय परिषद सदस्य लेखप्रसाद गुरुङ्ग, जिल्ला सदस्य आनिक राना, राष्ट्रिय महिला मोर्चाका जिल्ला उपाध्यक्ष विमला गुरुङ्ग, क्षेत्रीय अध्यक्ष छत्र दर्लामी, राजुराना लगायतले बोल्दै संघीयता सहितको संविधानको लागि राज्यलाई दवाव दिनु पर्नेमा जोड दिएका थिए । पार्टीका जिल्ला सचिव भैरव थापाको संचालन र उपाध्यक्ष मधु रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति / देवदह
