गोविन्द घर्ति
देवदह पौष २९ , माघे संक्रान्ति मगर र थारुको मात्र नभई आम नेपालीको भएकाले राज्यले यसको संरक्षण र सम्वद्र्धन गर्नु पर्ने बुटवलमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले आयोजना गरेको माघे संक्रान्तिको शुभकामना तथा १९ औं जिल्ला सम्मेलनको समिक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
उनीहरुले सम्पूर्ण मगरहरु एकजुट नहुदा सम्म अधिकार सुनिश्चित हुन नसक्ने भन्दै एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रेस सल्लाहकार गोविन्द घर्ति, मगर बौद्ध सेवा समाजका जिल्ला अध्यक्ष तुल्सी रेश्मी, मगर चलचित्र संघका केन्द्रीय सचिव शंकर गाहा, मगर युवा संघका जिल्ला अध्यक्ष पहलसिं राना, मगर महिला संघका जिल्ला सहसचिव केशरी गाहा, मगर चलचित्र संघ रुपन्देहीका सचिव यम पुन लगायतले बोल्दै अन्य जातीको पर्वलाई जस्तै मगर र थारुको पर्व माघे संक्रान्तिमा राज्यले बजेटको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए ।
संघका जिल्ला उपाध्यक्ष गिता सारुको स्वागत र सचिव कमला पुनको संचालनमा भएको कार्यक्रममा नेपाल मगर संघका गाउ समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सभागिता रहेको थियो ।
