बाग्लुङे कोइली

मनोज घर्तीमगर/बाग्लुङ

 

 हल्का चिम्सा आँखा । गहुँगोरो वर्ण । ठिक्कको कद । हँसिलो मुहारकी देवी घर्तीमगर स्टेजमा गीत गाउँदा सबैलाई लठ्ठ बनाउँछिन् । उनका गीत सुनेर धेरै दर्शक स्रोता मन्त्रमुग्ध हुन्छन् । पछिल्लो समय लोकदोहोरी गीतमा चम्किएकी देवीले आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेकाले बाग्लुङ पाण्डवखानीका स्थानीय गर्वले छाति फुलाउँछन् । यति मात्रै होइन, समग्र बाग्लुङे देवीले लोकदोहोरी गायनमा बनाएको उचाईले आफ्नो जिल्लाको लोकसाँस्कृतिक फाँट उचो रहेको महुसस गर्छन् । टेलिभिजनको पर्दामा देवीले गीत गाइरहेको हेर्ने बाग्लुङे उनकै बारेमा चर्चा परिचर्चा गर्छन् । त्यसैले त देवीको सुरिलो स्वरमा लठ्ठिएका बाग्लुङवासी उनलाई कोइलीको संज्ञा दिन्छन् ।

देवीजस्तै बाग्लुङे कोइलीको रुपमा गत जेठदेखि अरु तीन चेलि थपिएका छन् । जुना श्रीसमगर, सिता परियार र निता पुन मगर । २०७० जेठ ३१ गते काठमाडौंको कमलादीमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको दोस्रो राष्ट्रिय हाईलाईट्स नेपाल लोक दोहोरी अवार्डमा यी चार बाग्लुङे गायिकाले बाजि मारे । ‘नया“लाई प्रोत्साहन पुरानालाई सम्मान’ गर्ने उद्देश्यसहित विभिन्न १९ विधामा अवार्ड दिइएकोमा चार वटा अवार्ड बाग्लुङले जित्यो । त्यो पनि सबै गायिकाले । देवी घर्तीमगरले ‘उत्कृष्ट गायिका’ जुना श्रीसमगरले ‘नव गायिका’, निता पुनमगरले ‘उत्कृष्ट एल्बम’ र सिता परियारले ‘उत्कृष्ट प्रतियोगी गायिका’ को अवार्ड जितिन् । बाग्लुङका यी चार गायिकाले विभिन्न विधामा अवार्ड पाएपछि गाउँघर मात्रै नभइ शहरमा पनि उनीहरुको चर्चा चुलिएको छ । देवीलाई कोइली भन्ने बाग्लुङवासीले अहिले यी चार गायिकालाई नै ‘कोइली’ को उपमा दिएका छन् । ‘यी चार गायिकाले गीतसंगीतमा बाग्लुङको शिर अझ उचो बनाएका छन्’ बाग्लुङ्का संगीतप्रेमी यामबहादुर थापा भन्छन्,‘त्यसैले हामी सबैले उनीहरुलाई कोइली ठानेका छौं ।’

बाग्लुङ आफैमा पनि कला र संस्कृतिमा धनि छ । बाग्लुङका हरेक ब्यक्तिले कला र संस्कृतिको सम्मान गर्छन् । सके गीतसंगीतमै लाग्छन् नसके आफ्नै गाउँघरका कलकारले गाएका गीत गुनगुनाउँछन् । यी चार गायिकाको सफलतालाई स्थानीयले बाग्लुङको प्रतिनिधित्व ठानेका छन् । हरेक बाग्लुङवासी यसमै गर्व गर्छन् । लोकदोहोरी गीतमा एकछत्र राज गरेकी देवी पाण्डवखानी– २ रमुवाकी हुन् । अहिलेसम्म करिब २ हजार ५ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी उनी २०६१ सालमा काठमाडौं पसेर संगीतमा लागिन् । यहि क्षेत्रलाई करिअर बनाएकी उनी बाग्लुङको नाम राख्दै देश विदेशका थुप्रै स्टेजमा आफ्नो कला देखाई सकेकी छिन् । ‘बाग्लुङलगायत सम्पूर्ण स्रोताको माया ममताले यहाँसम्म आएको छु’ उनी भन्छिन्,‘आफ्नै गाउँठाउँका स्रोताले कोइलीको उपमा दिँदा मन हर्सित भएको छ । बाग्लुङको नाम राख्न केही न केही गरेको महसुस गरेको छु ।’

 

 रिघा–१ गलकोट बाग्लुङकी जुना श्रीसमगर अर्की कोइली हुन् । सुमधुर स्वरकी धनी जुना पछिल्लो समय लोकदोहोरीमा खुब चलेको नाम हो । नव गायिकाको अवार्ड पाएपछि त उनको चर्चा झन् बढेको छ । तीन वटा एल्बम बजारमा ल्याइसकेकी उनी तीजे गीतमा बढी जमेकी छिन् । १० वर्षदेखि संगीतमा भविश्य खोजिरहेकी उनले अहिलेसम्म तीन सय हाराहारीमा गीत गाइसकेकी छिन् । तिजे, कौडा, सालैजो, पञ्जेबाजा, लोकदोहोरी, लोक गीत सबैमा उत्तिकै दख्खल राख्ने उनी अवार्ड पाउँदा लामो समय संगीतमै लागेको परिश्रमको फल पाएको बताउँछिन् । बाग्लुङको गीत संगीतको लागि केही न केही गर्न सकेकोमा गर्व गर्ने उनी स्थानीयले कोइली भनेकोमा फुरुङ्ग छिन् ।  ‘हामीलाई माया गरेर दिएको यो उपमा बचाइ राख्न तल्लिन छु’ उनी भन्छिन्,‘ भर्खर दरिलो भएर खुट्टा टेकिदैछ । संगीतमा अझ धेरै गर्नुछ । बाग्लुङे र सम्पूर्णको मायाले सफल हुनेछु ।’ २०६२ मा काठमाडौ झरेपछि उनी देश, विदेशका धेरै ठाउँमा पुगेर स्टेज तताईसकेकी छिन् ।

 

  अमरभूमि–१ माझखर्कमा जन्मिएकी निता पुनमगरले ‘सर्वोत्कृष्ट गीत’ को अवार्ड पाएपछि बाग्लुङवासीले उनलाई खुब सम्मान गर्न थालेका छन् । सालैजो भाकामा गीत गाउन खप्पिस उनले ‘माइतिघर’ एल्बम बजारमा ल्याएपछि चर्चामा पुगिन् । यहि एल्बममा समावेश गीतकै कारण अवार्ड पाएपति उनी निकै खुसी छिन् । अवार्ड लगत्तै बाग्लुङवासीले देखाएको सदासयतनाले उनी हौसिएकी छिन् । ‘चारै जना त्यो पनि सबै गायिका एकै पटक पुरस्कृत भएपछि गीत संगीतको क्षेत्रमा बाग्लुङको नाम चम्कियो’ उनी भन्छिन्,‘त्यसैले पनि बाग्लुङवासीलाई हामीलाई कोइलीको उपमा दिएका हुन् । गीत संगीतमा लामोसमयदेखि लागेको फल यही हो ।’ निताले २०५४ सालमा खड्ग गबुर्जसँग सालैजो गीत गाएपछि निरन्तर यहि क्षेत्रमा छिन् । २०६१ मा काडमाडौं झरेपछि संगीतमा लागेकी उनले अहिलेसम्म पाँच वटा एल्बम निकाली सकेकी छिन् । कौडा, सालैजो, लोक, लोक दोहोरी,  सालैजो गीत गाउन खप्पीस उनले दाम कमाउन नसके पनि नाम कमाउन पाएकोमा गर्व गर्छिन् ।

बाग्लुङमै बसेर संगीतमा संघर्ष गरिरेकी सिता परियारले ‘उत्कृष्ट प्रतियोगी गायिका’ को अवार्ड पाएपछि खुब चर्चामा छिन् । बाग्लुङबाट अवार्ड थाप्न काठमाडौं पुगेपछि उनी स्टेजमा अवार्ड र सम्मान थाप्दै गर्दा खुसीले रोकएकी थिइन् । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, बाग्लुङको सदस्य उनी आफ्नै ठाउँमा बसेर कला र संस्कृतिमै लागेर, काठमाडौ बाहिर बसेर मनोनयनमा पर्नु, त्यसमध्ये ५ उत्कृष्टमा पर्नु र अन्ततः बिजेता हुनुलाई ठूलो सफलता ठानेकी छिन् । बाग्लुङगमै बसेर विभिन्न क्षेत्रमा हुने गरेको महोत्सव, मेलाहरुमा बाग्लुङगको प्रतिनिधित्व गरेर लोक दोहोरी प्रतियोगितामा सहभागी हुने उनी काठमाडौ केन्द्रित संगीत क्षेत्रले बाहिरका कलाकारलाई खासै महत्व नदिने गरेको सोच्थिन् । तर, उनले काठमाडौं बाहिर बसेर पनि आफ्नो गाउने क्षेमताको कदर भएको बताउँछिन् । ७ बर्ष देखि गीतसंगीतमै संघर्ष गरिरहेकी उनी बाग्लुङेले कोइली भन्न थालेपछि झन् हौसिएकी छिन् ।