किन लड्या होलान् यी गुर्खा !

Read Time:7 Minute, 24 Second

ज्ञानराज राई एण्ड टिमको भोक हडताल


गएको आईतवार सम्पन्न ब्रिटिश गर्खा भूतपूर्व सैनिक संघ हङकङको अधिवेशनमा उल्लेख्य केहि थिएन । कार्यक्रम सादा थियो । तर त्यहाँ बोल्ने केहि जोशिला गुर्खाहरुका उत्तेजक भाषण भने मेरा निम्ति ध्यानयोग्य थिए । पदम गुरुङको नेतृत्वमा लामो समयदेखि बेलायती राजले गरेको गुर्खाहरुमाथि गरेको विभेद विरुद्ध लड्दै आएको गेसोका केन्द्रिय सदस्य मणिकिरात वान्तवा देखि अन्य समर्थक वक्ताहरुले धुँवाधार रुपमा दुरुस्त त्यहि आन्दोलन गरिरहेका सहधर्मीहरुमाथि जुन खाले गालीगलौज गरिरहेकाथिए त्यो अत्यन्त निकृष्ट थिए ।
त्यसो त यस्तो विरोध तिनका विवेकबाट निस्किएको जस्तो थिएन । पदम गुरुङको नाममा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा त्यस्तो अभद्र र असभ्य भाषा प्रयोग गरिएकोथियो,जुन मीडियामा पहिल्यै आईसकेकाथिए । त्यहि बिज्ञप्ति बाचन गर्दे वक्ताहरु उफ्रिरहेकाथिए, गालीगलौजकै स्तरमा ।
जुन संस्थाले लामो समय देखि विभेद, न्याय, समानता, आत्मसम्मान, स्वाभिमान र ईज्ज्तको दुहाई दिदैं बेलायती सरकारको ब्यवहार विरुद्ध आन्दोलन गरिरहेकोछ, त्यहि संस्था र तिनकै नेताहरुले जुन तरिकाले सहधर्मीहरुको विरोध गरिरहेकाछन्, त्यो गोराको विभेदरुपी ब्यवहार भन्दा कुनै अर्थमा फरक देखिदैन । अरुलाई पाठ पढाउनेले त्यहि दुष्कर्म गरेपछि तिनको नेतृत्व र आचरणमाथि स्वतः प्रश्न उठिहाल्छ । त्यस्तो गालीगलौजले माथि उठाँउदैन,गिराउँछ ।
गेसोको लान्छना र गालीगलौज भरिएको प्रेस बिज्ञप्ति र तिनका नेताहरुले ओकलिरहेका गालीगलौजले फाईदा कसलाई पुर्याउँछ ? तिनको भनाईमा हालसालै १५ दिनसम्म बेलायतमा गुर्खा मागका निम्ति आमरण बसेका ज्ञानराज राई र उनीसंग आवद्ध विभिन्न आधा दर्जन संघसंस्था बेलायती शासनका मोहरा हुन् । तिनमाथि बेलायती सरकारकै षड्यन्त्रमा गेसोलाई कमजोर पार्न खडा गरिएका भाडाका टट्टु हुन् भन्दै गम्भीर लान्छना लगाइएकोछ ।
१५ दिनसम्म ३ डिग्रीको सिरेटोमा नाँगो आकाशमुनी भोकभोकै आन्दोलन गरि बेलायती सरकारका प्रतिनीधिहरुलाई सडकमा आई अनुसन्धान गर्ने प्रतिबद्धता बक्न लगाउने अवस्थामा पुर्याउने आफ्नै सहधर्मीहरुमाथि किन यो विध्न लान्छना लगाए, गम्भीरतापूर्ण सोच्न थाल्नुपर्छ । किनकी १५ दिन सम्म जिवनमरणसंग लड्दै आन्दोलन गरिरहदा गेसो केहि बोलेको थिएन । तर जब आन्दोलन सफल भएको जस्तो देखियो गेसो एकाएक दुष्प्रचार शैलीमा मैदानमा कुदेको देखिन्छ, जुन उसको आन्दोलनको मर्म विपरित देखिन्छ । ज्ञानराज राई एण्ड टिमले गेसोको आरोपलाई कपोलकल्पित भनिसकेकोछ र प्रमाण भए सार्वजनिक गर्न चुनौती समेत दिएकाछन् । गेसोका नेताहरुसंग आरोप र गाली सिवाय अहिले सम्म तिनले बोलिरहेको गम्भीर आरोपको कुनै प्रमाण देखिदैन । दिइएका प्रमाणहरु राजनीतिक दलले लगाउने आरोपका खोस्टा भन्दा कम छैनन ।
ज्ञानराज राई एण्ड टिमले जुन र जे जसरी आन्दोलन गरेपनि ति सबैले गेसोले उठाँउदै आएको मुद्दाहरुलाई नै अगाडि बढाईरहेकाहुन् । समानताको मुद्दा उठाएरै ति आमरण अनसन जस्तो दुरुह आन्दोलनमा उत्रिएकाहुन् । सडकमा उफ्रिएर चिच्याउन भन्दा आमरण अनसन स्वभावले खतरा र दुरुह ठानिन्छ । आफुहरुले उठाईरहेको मागलाई आफु जस्तै पीडित नंवरीहरुबाट आन्दोलन गर्दा साथ दिन र गर्व गर्नुपर्नेमा यसरी धारेहात लगाएपछि त्यसले समस्त गुर्खा आन्दोलनमै दुष्प्रभाव पार्छ भन्ने हेक्का राखिएकोछैन ।

उल्टै गुर्खा अफिसरसंग मिलेर आमरण अनसनको नौटंकी गरेको आरोप लगाइएकोछ । अचम्म त के छ भने अस्तिको कार्यक्रममा गेसोका नेताहरुले ज्ञानराज राईले लुकीलुकी खाना खाँदै त्यो अनसन गरेको हो भन्दै आरोप लगाए । आरोप लगाउनुअघि त्यो कसले देख्यो, कुनै फुटेज छ त्यस्तो गरिएको ? गुर्खा अफिसरहरुसंग मिलिएको भए गेसोले यसअघि गरेका आन्दोलनलाई पनि त्यसरी नै हेर्नुपर्ने होला भनि कसैले प्रश्न उठायो भने के गर्ने ।  एउटै आन्दोलनमा आफुले गर्दा ठिक अरुले गर्दा बेठिक भन्ने सोंचाई नै गलत छ ।
होला, ज्ञानराज राईहरु हिरो हुँदा गेसोका नेताहरुको चार्म घट्ला या केहिले भने जस्तो संस्थालाई उठाउने रकम नउठ्ला या साल्मे डाँडाको अभियानलाई अप्ठेरो पर्ला तर आन्दोलनकारीले त्यस्तो तुच्छ बिचार राख्नु हुदैन । यदि गुर्खा समानताको माग सफल जुन संस्था र ब्यक्तिले गरेपनि फाईदा त गुर्खा समुदायलाई नै हो पुग्ने । आफु आफुमै लड्न थालेपछि भाई फुटे गँवार लुटे नै हो हुने । आफु लडेपछि अरुले त्यसै उठाई हाल्छन् नी । गेसोले बिज्ञप्ति छाडेपछि ज्ञानराज राईहरुले पनि त्यस्तै बिज्ञप्ति मार्फत प्रतिक्रिया दिईसकेकाछन् । यो शुभ संकेत होईन । आफु आफु लड्न थाल्नु भन्दा कसरी आफ्नो मुद्दा सशक्त बनाउन सकिन्छ त्यसमा ध्यान पुर्याउन जरुरी छ । अन्यथा गुर्खाका सन्तान हामीले यस्तो दिन देख्न नपरोस् जहाँ बेलायती सत्तासंग समानताका लागि लड्न हिंडेका गुर्खाहरु बघिङ्गम प्लेस अगाडी आफै कुटाकुट गरिरहेका होऊन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %