जेठानले खुत्रुक्क पारेको ज्वाँई

Read Time:8 Minute, 38 Second

 

हामी जहाँ जन्मेपनि, हुर्किएपनि, जहाँ भएपनि मन त हाम्रो नेपाली छ । एक जना नेपालीको यस उद्गारलाई प्रख्यात सङ्गीतकार तथा साहित्यकार मास्टर मित्रसेन थापा मगरले व्यवहारमा उतारेको पाइन्छ । कर्म भुमि प्रवाशमा भएपनि नेपाली लोक साहित्य एवम् लोक सङ्गीतमा पु¥याएको उनको योगदान अहिले पनि उत्तिकै महत्वपुर्ण तथा प्रशंसनीय छ ।

त्रिलोक सिंह थापा मगर

 यसै सन्दर्भमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले मित्रसेन प्रति आफ्नो उद्गार यसरी व्यक्त गर्नु भएको छ ः “उहाँले रोप्नु भएको नेपाली सङ्गीतको वीजबाट उम्रेका रुखको फल अहिले हामीले पाइरहेका छौं । मित्रसेनले लगाएको गुनको आफुहरु सधैं ऋणी रहने छौं”।
नेपाली सङ्गीतमा केहि यस्ता स्रष्टाहरु छन् जसको गीत बर्षौं देखि गाउँ, शहर, मेलापात, हिमाल, पहाड, तराईका हरेक क्षेत्रमा उत्तिकै लोकप्रिय छन् । यस्तो थोरै स्रस्टाहरु मध्ये एक हुन मास्टर मित्रसेन थापा मगर । ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले’ वा ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ वा ‘भन गोरखाली दाजुभाइ’ आदि उनका गीतले सङ्गीत प्रेमीहरुको मन छोएको छ । त्यसै गरी मित्रसेनका ‘छत्रे टोपि ढल्काई’, ‘खुकुरी चम्काई’, ‘चुइं चुइं चुइकिने जुत्ता’, ‘अब त जाउं कान्छी घर’, ‘स्वामी नजाउ विदेश’, ‘होमे साले पेमे’ ‘केन गर्छौ तानातानी’ आदि गीत त्यत्तिकै चर्चित एवम् लोकप्रिय छन् ।
नेपाली गीतका अन्वेषक, रचनाकार तथा गायक मित्रसेन झ्याउरे साम्राटको उपाधिबाट समेत प्रसिद्धि पाएका थिए । उनी यस्ता नेपाली गायक हुन् जसले ग्रामोफोन रेकर्डमा पहिलो पटक झ्याउरे गीतको प्रयोग गरेका थिए । झाम्रे वा झ्याउरे गीतलाई नेपालका सम्पन्न परिवारका घर दैलो सम्म पुर्याउने श्रेय पनि मास्टर मित्रसेनलाई जान्छ । झ्याउरे र झाम्रे गीतलाई डिस्क रेकर्डको माध्यामबाट अन्तर्राष्ट्रिय स्तरमा प्रचार तथा प्रसार गर्न उनी सफल भएका थिए ।
मास्टर मित्रसेन थापाका गीत सङ्गीतमा नेपाली गाउँ घर समाजका भावनाहरु स्पष्ट रुपमा प्रतिविम्वीत हुनु नै उनको रचनाको मुख्य विशेषता रहेको छ । फलस्वरुप उनका सदाबहार गीतहरु उत्तिकै गुलियो, आकर्षक, तथा मनोरञ्जक छन् । उनी द्वारा रचना गरिएका झ्याउरे गीतमा हास्य व्यङ्ग र श्रुङ्गारिता पाइन्छ भने नेपाली कव्वाली गजलमा पनि त्यत्तिकै दखल रहेको छ ।
मास्टर मित्रसेनका गीतलाई प्रख्यात सङ्गीतकार शम्भुजित बास्कोटाले चलचित्र ‘प्रेमपिण्ड’ र गोपाल योञ्जनले चलचित्र ‘कान्छी’ मा प्रयोग गरेका थिए । यसले पनि के देखाउंछ भने मित्रसेनका गीत बर्तमान आधुनिक समयमा र पछिल्लो पुस्तामा पनि त्यत्तिकै चर्चित एवम् लोकप्रिय छन् ।
मास्टर मित्रसेन थापा मगर गीतकार, रचनाकार एवम् सङ्गीतकारका साथै समाजसेवी पनि थिए । आफ्नो पुख्र्यौली भुमी नेपाली समाजका सामाजिक दुर्दशा देखेर उनी ज्यादै दुखि भएका थिए । त्यसै कारणले गर्दा जाड रक्सी नखान, बहुविवाह नगर्न, फेसनमा भुलेर जातीय मौलिकता नविर्सन आदि सन्देश आफ्नो रचनाका माध्यामबाट सञ्चारित गरे । उनका गीत, सङ्गीत, कविता, भजन, कव्वाली, र गजल आदि सामाजिक उत्थानका विषयमा आधारित रहेका थिए । यसरी हेर्ने हो भने मित्रसेन केवल साहित्य एवम् सङ्गीतका सेवक मात्र होइनन् समाज सुधारकको रुपमा पनि उनको योगदान महत्वपुर्ण रहेको ठहरिन्छ ।
मास्टर मित्रसेनले सिर्जना गरेका निवन्ध संग्रह ‘हितको कुरा’, ‘मित्रको डायरी’ ‘उन्नतिको साँचो’, ‘सुशिलता’, ‘प्रेम’, ‘समयको उपयोगिता’ ‘अभिमान निषेध’, ‘कृतज्ञता’ आदि दार्शनिक, रोचक, बोधगम्य, सरल तथा शिक्षाप्रद छन् । मास्टर मित्रसेनका रचनाहरु अध्ययन गर्दा अति आनन्दको अनुभुति हुन्छ ।
मास्टर मित्रसेनद्वारा रचना गरिएका कथाहरु ‘तीर्थयात्रा’, ‘तीन कुरा’, ‘तीन साधु, आदि गद्य तथा पद्य विद्यामा लेखिएका छन् । यी कथाहरुको अध्ययन गर्दा एउटा वेग्लै स्वादको अनुभुति एवम् आभास पाइन्छ ।
मित्रसेनद्वारा रचना गरिएका खण्डकाव्य, गीता तथा बुद्धका उपदेश तथा टाल्सटायका केहि कृतिहरुको भावानुवाद अध्यन्त सरल, सहज तथा बोधगम्य छन् । त्यस्तै गजल, कविता तथा कव्वालीका माध्यामबाट हास्य व्यङ्गमा आफ्नो भावना पोख्न उनी ज्यादै सिपालु थिए । हास्य व्यङ्ग रचनाका केहि पंक्तिहरु यस प्रकार छन् ः

पांच आना छ दिनको कमाई, छ आनाको रक्सी
मासु खान पाइन भनी बुढी हेर ठुस्की
अम्मल पुरा नभएमा ज्यानै जाने खुस्की
साहुसित मन्टो लुकाई हिंड्छ जुस्की जुस्की
अदालतले फुर्कि गर्दा बल्ल बुढी झस्की, झसङ्ग

मास्टर मित्रसेनका रचना एवम् सिर्जनाहरुलाई नियालेर हेर्ने हो भने उनी बहु आयामिक वयक्तित्वका स्रष्टा हुन् । अतः उनका साङ्गीतिक तथा साहित्यिक योगदानको निरन्तर चर्चा परिचर्चा, विचार विमर्श तथा अध्ययन मनन भइ राख्नु पर्दछ । उनका छरिएर रहेका विभिन्न गीत कथा, निवन्ध, तथा डायरीहरुको सङ्गालो ‘मास्टर मित्रसेन र उनका सिर्जना’ शीर्षकको पुस्तक पनि प्रकाशनको अन्तिम खुड्किलोमा छ । सो पुस्तकमा त्यसबेलाको भाषा र भावना जस्ताका तस्तै राख्ने प्रयास भएको छ । सो पुस्तकको अध्ययन गर्दा ज्यादै आनन्दको अनुभुति प्राप्त हुन्छ ।
अन्तमा, सदाबहार गीतका गायक एवम् गीतकार मित्रसेन विश्वका जुन सुकै ठाउमा बसोबास गरेका नेपालीहरुका मुटुका धुकधुकी हुन् तथा उत्तिकै लोकप्रिय हुन् । यहि आउंदो २९ डिसेम्वरमा उनको ११८ औं जन्म जयन्ति विभिन्न ठाउंमा आयोजना हुने कुरा सुनिन्छ । सबै साहित्यकार, सङ्गीतकार र पाठक महानुभावहरुलाई आ–आफ्नो ठाउंमा आ–आफ्नै तरिकाबाट मास्टर मित्रसेनको जन्म जयन्ति मनाउनुहुन अनुरोध गर्दछु । यसो भएमा जनजाति तथा सम्पुर्ण नेपाली भाषाभाषीहरुका राष्ट्रिय विभुति मास्टर मित्रसेनलाई सम्झना र सम्मान भएको ठहरिनेछ ।
 
triloksthapa@gmail.com
www.mastermitrasen.org

लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौका अध्यक्ष हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %