पोखरामा संयुक्त ल्होसार/ल्होछारको तयारी

पोखरा, १७ मंसीर

तमुजातिको नयाँबर्ष, महान चाड ल्होछार पोखरामा सामुहिक रुपमा मनाउन तमु धिं नेपालका अध्यक्ष कर्म तमुको संयोजकत्वमा मुल समारोह आयोजक समिति २०७० गठन भएको छ ।

तमु धिं नेपालले पोखरामा ल्होछार संयुक्त रुपमा मनाउन पहल गर्नका महासचिव रुद्रकुमारी (मैना) तमुको संयोजकत्वमा गठन गरेको संयुक्त ल्होछार पहल समितिले सोमवार तमु धिं नेपालमा आयोजित तमु संघ संस्थाका प्रतिनीधिहरुको भेलाले उक्त सामुहिक ल्होछार मुल समारोह आयोजक समिति २०७० गठन गरेको हो ।

भेलाले आयोजक समितिको सदस्यहरुमा तमु प्ये ल्हु संघ, बौद्ध अर्घौ सदन, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद, ङ्योए तमु धिं लेखनाथ, तमु राष्ट्रिय मुक्ति मोर्चा, गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान), तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, तमु व्यवसायिक तथा प्राज्ञिक मञ्च नेपाल र सदस्य सचिवमा तमु धिं नेपालका महासचिव रुद्रकुमारी(मैना) तमु चयन गरेको छ ।

भेलाले सामुहिक ल्होछारको कार्ययोजनाका साथ मंसीर २० गते तमु प्ये ल्हु संघमा बैठक बस्ने निर्णय गरेको आयोजक समितिका सदस्य सचिव रुद्रकुमारी तमुले जानकारी दिए ।

आउदो पुस १४ गतेको मध्यरातबाट सप्री ल्हो(सर्प वर्ग)को विदाई र त ल्हो(घोडा वर्ग)को आगमन हुन गइरहेको अवसरमा पोखरा उपत्यकाका बसोवास गर्ने तमु समुदायले तमु जातिको नयाँ बर्ष वा महान चाडलाई भव्यताका साथ मनाउन सामुहिक ल्होछारको पहल गर्न तमु धिं नेपालले महसचिव रुद्रकुमारी तमुको संयोजकत्वमा सोंपाल तमु समाजका अध्यक्ष क्याप्टेन धनबहादुर तमु, तमु सहयोग समिति पार्दीका अध्यक्ष क्याप्टेन चेतबहादुर तमु, बाँझापाटन तमु समाजका अध्यक्ष सुवेदार मेजर चेतबहादुर तमु, नादा तमु समाजका अध्यक्ष गमबहादुर तमु, तमु धिं नेपालका कार्यसमिति सदस्य राजेन्द्र तमु र सल्लाहकार सन्तबहादुर तमु सदस्य रहेको ७ सदस्यीय पहल समिति गठन गरेको थियो ।
– हुम तमु