चेतन आवृष्टि

कलमको निभले होईन
बन्दुकको सँगिनले लेखेको
ईतिहास
समय पर्दाले घुम्टो उघारेर
नेपथ्यमा भेद खुल्दैछ

पाईला- पाईलामा थापेका वादका धरापहरू
पाटा फर्काएर लादिएका धर्म
पुर्खाहरू देउरालीमा पाती चदाई
दोस्रो विश्व युद्धमा लखेतिए
आँखा जुधाएर हेर्नेको
कान र नाक
धार्नी र बिसौलीमा जोखिए

जात-पातको चंगुलमा फसिएर
रिकुटे बनी रहेऔ
कोतघरमा बोका छप्काउदै
आफ्नै पुर्खा मारिएको उपलक्ष्यमा
निधारमा रातो टीका टल्कायौ
ठुलाठालुको भतेरमा टपरीमा भुँडी भरेऔ

काला कालखण्ड चिरेर
नस्ल चेतन आवृष्टिले रुझी सके
माफ गर्नुस !महाशय
अब , म
बलिको बोको बन्दिन ।

निश्चल काउचा मगर
चौराहा – १ – बाग्लुङ