धनकुटा ,
कोशी राजमार्गको धरान(धनकुटा सडकखण्ड अन्र्तगत धनकुटाको लाबरबोटेमा बुधबार दिउसो विष्फोटक पदार्थ फेला परेको छ । लाबरबोटेमा बालुवामा राखिएको जिलेटिन विष्फोटक पदार्थ नेपाली सेनाको डिस्पोजल टोलीले हटाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । ३३ दलीय मोर्चाले सर्वसाधारणलाई त्रसित बनाउन बालुवाको बोरामा हालेर बिस्फोटक पदार्थ सडकमा राखेको प्रहरीले जनाएको छ ।
३३ दलीय मोर्चाको बन्दले बुधबार पनि यातायात ठप्प हुादा पुर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दले धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत पुर्बी पहाडी जिल्लामा यातायातका साधन सञ्चालन हुन सकेनन् । सुरक्षाकर्मीको स्कर्टिङमा केही गाडी गुडे पनि अन्य यातायातका साधन सडकमा निकालिएको छैन । सडकमा बन्दकर्ता नदेखिए पनि तराईबाट पहाडी जिल्ला जोड्ने कोशी र नारदमुनी थुलुङ्ग लोकमार्ग पनि बन्दका कारण बिहानैदेखि सुनसान छ । बन्द जारी रहेकाले धनकुटा लगायत पहाडी जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीको स्कर्टिङका बावजुत पनि राजमार्ग दिनभर सुनसान थियो । प्रेस, एम्वुलेन्स सहितका आकस्मिक प्रयोजनका सावरीसाधन बन्दमा पनि सञ्चालनमा छन् । तीन दिनदेखिको लगातारको बन्दले पहाडी जिल्लाको जनजीबन कष्टकर बन्दै छ ।
सन्तवीर लामा
