प्रहरीले पूर्वका बिभिन्न जिल्लाबाट १४ जना बन्दकर्तालाइ नियन्त्रणमा लिएको छ । झापा खोटाङ र संखुवासभाबाट उनीहरुलाइ नियन्त्रणमा लिएको हो । खोटाङबाट ६ जना , झापाबाट ६ जना र संखुवासभाबाट २ जनालाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै सिराहामा नेकपा–माओवादीका ६ जना जिल्ला नेता तथा कार्यकर्ताको घरमा प्रहरीले गएराति छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको विशेष टोलीले छापा मारेको हो ।
नेकपा-माओवादीका जिल्ला सेक्रेटरी सिराहाको लालपुर–८ का रामनारायण सिंह, जिल्ला सह–इन्चार्ज जमदह– ९ का दीपेश लामा, लालपुर–४ का शम्भु साह र वैद्यनिकट पत्रकार लहान–८ का राजेश रामको घरमा प्रहरीले छापा मारेको हो । यसैबिच नेकपा- माओवादीेले गरेको बन्दको आज पनि प्रभाव परेको छ । आउदो मंगलबार हुने संविधानसभा चुनावको विरोधमा नेकपा माओवादीले यातायात बन्दको आह्वान गरेको हो । सडकमा हिजो अस्तीको जस्तै कमै मात्रामा सवारीसाधन गुडीरहेका छन् । पूर्वमा यातायात सञ्चालन गर्दै आएका आधा दजर्न भन्दा बढी बस व्यवसायीहरुले यातायात चलाउन नमानेपछि यात्रुहरुले सास्ती खेपिरहेका छन् ।
व्यवसायीहरुले पर्याप्त सुरक्षा व्यवस्था नभएसम्म यातायात सञ्चालन गर्न नसक्ने बताएका छन् । यसैबिच बन्दमा गाडी चलाएको भन्दै अज्ञात युवा समुहले गुडीरहेको गाडी माथी गयराती संखुवासभामा ढुङगा प्रहार गरेको छ । मानेभञ्जाङ काउण्टरबाट चन्दनपुरको लागि छुटेको को१च १७१२ नम्बरको गाडीलाई बाटो माथी देखी ढुङगा प्रहार भएको हो । ढुङगा प्रहारबाट गाडीको अगाडीको भागमा क्षति पुगे पनि मानबीय क्षति भने नभएको सङ्खुवासभाका प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताए ।
भैरब आङ्ला,धरान
