उदयपुरकोे पश्चिमी भेगको सिरिसेमा एक यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ ।
एक दर्जन घाइते भएका छन् । कटारीबाट घुर्मीको लागि छुटेको ना १ ज १७६ नम्बरको टाटा सुमो जीप लेखानी –९ को पट्ना भन्ज्याङ जंगलको बीचमा गएराती ८ बजे दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । मृतकमध्ये अहिलेसम्म दुईजनाको मात्र सनाखत भएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा खोटाङको विजयखर्क –२ का ७२ वर्षीय नारायणप्रसाद पोखरेल र खोटाङकै बाक्सिला –४ का बालकुमार खत्रीको सनाखत भएको हो । १७ जना यात्रु सवार जीपमा १२ जना घाईते भएको र तीमध्ये १० जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये १० जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीका नायव उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।
घाईते हुनेहरुमा हर्देनी उदयपुरका २३ वर्षीय घमण्ड परियार, सोहि स्थानका राजन परियार, ६ वर्षीया भुमिका परियार, कटारी –६ उदयपुरका खेमराज बस्नेत, नेचा सोलुका ६६ वर्षीया पन्ची सुब्बा, सोही स्थानका ३६ वर्षीय देवराज राई, खोटाङको बुइपाका ७३ वर्षीया तुलसा खनाल,सोही स्थानका ६ वर्षीय निशान खनाल, ओखलढुंगाका ३५ वर्षीय मोहन श्रेष्ठ र ठेगाना नखुलेकी सरोजा राई रहेको उदयपूर प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट करिव पाँचसय मिटर खसेको हो ।
भैरब आङ्ला, धरान
