पोखराको चुनाव: एकातिर जनजाति, अर्कोतिर क्षेत्री

Read Time:6 Minute, 15 Second

पोखरा, कात्तिक ८
नयाँ राजनीतिक शक्तिका रुपमा उदाएका संघीय समाजवादी पार्टी (ससपा) र अखण्ड नेपाल पार्टीले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । मंसिर ४ गते हुने संविधान सभा निर्वाचनमा भिड्नलाई चुनावी प्रचारमा जुटेका यी दुई पार्टीका मुख्य मुद्दा ठ्याक्कै एकअर्काविरुद्ध छन् ।
संघिय समाजवादी पार्टी जातीय पहिचानसहितको संघीयतालाई मुख्य मुद्दा बनाएर चुनावी प्रचारमा छ भने, अखण्ड नेपाल पार्टी त्यसको विपक्षमा छ । उसले जातिय पहिचानसहितको संघियता हुनु हुँदैन भन्ने मुख्य मुद्दा लिएर प्रचारमा लागिरहेको छ । उनीहरुका मुख्य मुद्दा ठिक विपरित भएकाले प्रचारप्रसार पनि रमाईलो देखिएको छ ।
दुवैले कास्कीमा उठाएका उम्मेदवारलाई हेर्दा उनीहरुमाथी लाग्ने जातिय पार्टीको आरोपलाई थप बल पु¥याएको छ । दुवै पार्टीले समावेसीको सिद्धान्तलाई मान्ने बताए पनि ससपाले जनजाति मात्रै र अखण्डले क्षेत्री मात्रै उम्मेदवार बनाएको छ । त्यसमा पनि सबै पुरुष उम्मेदवार छन् ।
ससपाका तर्फबाट प्रत्यक्षतर्फ कास्कीको क्षेत्र नं १ देखि ४ मा क्रमशः मानबहादुर गुरुङ, देवीराज गुरुङ, पानबहादुर घर्ती भुजेल र गणेशमान गुरुङ चुनावी मैदानमा छन् ।  यीमध्ये पानबहादुरबाहेक बाँकी सबै उम्मेदवार नेकपा एमालेमा सक्रिय थिए । उनीहरु आफूलाई पहिचानपक्षधरलाई भन्दै गाउँगाउँका मतदातासम्म भोट माग्न पुगेका छन् ।
अखण्ड नेपाल पार्टीले क्षेत्र नंं १ देखि ४ मा क्रमशः मीनबहादुर केसी, पदमबहादुर कार्की, टेकन गिरी र कृष्णबहादुर थापालाई उठाएको छ । यसअघि एमालेमा सक्रिय पदमबहादुर कार्कीले अखण्ड नेपालको जिल्ला नेतृत्व सम्हालिहेका छन् । उनीहरु जातिय संघियताले देश टुक्रिने भएकाले आफूहरुलाई भोट दिन भन्दै गाउँगाउँका मतदातासम्म पुगेका छन् ।
जनजाति उल्लेख्य रहेको र पार्टीले पहिचानको मुद्दा उठाएकाले ससपाले पनि कास्कीबाट आगामी चुनावमा धेरै आशा राखेको छ । ससपा गठनअघि एमालेबाटै अहिलेका उम्मेदावार हुने चर्चा भएकाले ससपाले आफ्नो पक्षमा मत पर्ने दाबी गरेको छ ।
क्षेत्री समाजमा लागेका व्यक्तिहरुले नै अखण्ड नेपाल पार्टी गठन गरेकाले यसमा क्षेत्रीको बाहुल्य छ । त्यस्तै जनजाति नेताले नेत्तृत्व गरेकाले ससपामा धेरै नेता जनजाति छन् ।
कास्कीमा पहिल्यैदेखि प्रभाव रहेको र समाजसँग आबद्ध व्यक्ति नै पछि अखण्डमा लागेकाले उसले यो जिल्लाबाट चुनावमा बढी आशा गरेको हो । अखण्ड नेपाल र ससपा दुवैले कास्कीमा आफ्नो उपस्थिति राम्रो भएको दाबी गरेका छन् ।
दुवै पार्टीमा मुद्दा ठिक विपरित भएकाले पनि कास्कीमा उनीहले चाहेर पनि समावेशीतालाई अपनाउन नसकेको स्वीकारेका छन् ।
‘नयाँ पार्टी भएकाले पार्टीमा भएका केही क्षेत्री बाहुन साथीहरुले उम्मेदवार हुने आँट गर्नु भएन’ ससपा कास्कीका अध्यक्ष दीपक तामाङले भने,‘हामीले क्षेत्री बाहुन समेटेर समावेशी बनाउन खोजेकै हौं । तर, उम्मेदवार नै नभएपछि सबै जनजाति पर्नु भएको हो ।’
अध्यक्ष तामाङले पहिचानसहितको संघियताबारे वकालत गर्नेहरु धेरै जनजाति नै भएकाले उम्मेदवार पनि त्यही समुदायको हुनु स्वाभाविक भएको बताए । ससपाको १ सय १ सदस्यिय कास्की जिल्ला कमिटीमा क्षेत्री र बाहुन गरि १० जना सदस्य छन् ।
अखण्ड नेपाल पार्टी कास्कीका अध्यक्ष पदम कार्कीले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा समावेशी बनाउन चहाँदाचहाँदै हतार भएकाले गर्न नसकेको बताए । ‘जुन मान्छे क्षेत्री समाजमा लागेको हो, तिनै मान्छेले चुनावमा उठ्ने रहर गरेपछि यस्तो भएको हो’ अध्यक्ष कार्कीले भने,‘नयाँ पार्टी भएकाले क्षेत्रीबाहुन बाहेक अन्य समुदायमा व्यक्ति पनि कम छन् । हतार भएकाले पनि समावेशी गर्न नसकिएको हो ।’
अध्यक्ष कार्कीले कास्कीको हकमा उम्मेदवारलाई हेर्दा अखण्ड नेपाल पार्टीलाई क्षेत्रीको पार्टी भनेर लाग्ने गरेको आरोप सहि जस्तै देखिए पनि समग्रमा त्यस्तो नभएको दावी गरे । एक सय सदस्य रहेको अखण्ड नेपाल पार्टीको कास्की जिल्ला कमिटीमा ५÷६ जना मात्रै जनजाति सदस्य छन् ।
दुवै पार्टीले आफूहरु नयाँ शक्ति भएकाले खोजे र रोजेका उम्मेदवार नभएकाले आगमी चुनावमा समावेशीतालाई ध्याद दिने बताए ।

मनोज घर्तीमगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %