बाजरलाई दागेको गोली मेरो छातिमा बज्रन्छ

Read Time:5 Minute, 38 Second

बाजर बेलायतमा पाइने स्तन्धारी जंगली जनावर हो । यसले गाइबस्तुलाई बोभाइन भनिने टीभी रोग सार्ने बिश्वास गरिएको छ । त्यसैले केही हप्ता पहिलेदेखी यिनीहरूलाई बेलायत सरकारले मार्दै आएको छ । यी बाजरहरूलाई यसरी सामुहिक हत्या गरिँदा किन हो कुन्नि म आफै मारिए जस्तो लागिरहेछ । यस्तो अनुभव हुनुको पछाडि २३ बर्ष अगाडीका स्मरणले काम गरेको हुनसक्छ। सन १९९० तीरको कुरो हो । 

 जतिबेला म चाथम, केन्टको रोयल स्कुल अफ मिलिटरी इन्जिनिएर स्कुलमा तालिम गर्थेँ । केही मात्रै हामि गोर्खाली साथिहरू थियौँ धेरैजसो त स्थानिय अग्रेंजी केटाहरुनै थिए । तिनीहरूले मलाइ गिज्याउने गर्थे ‘बाजर’ भनेर । मैले सोंच्थे सायद मेरो नाम ‘बिजय’ भएर होला यिनीहरूले मेरो नाम राम्रोसँग उच्चारण गर्न नजानेर ‘बाजर’ भनेको । बाजर स्यानो स्यानो गाँठीको , टाउकोमा सेतो धारभएको बंदेल/भालु जस्तै देखिने, छोटो-छोटो खुट्टा हुने चारखुट्टे जनावर हो । हामि मङोलियन बर्णका मान्छे सुगुंर जस्तै देखिन्छौं । सायद म पनि बाजर जस्तै पुड्के देखिएर हो कि उनिहरु मलाइ त्यो नामले सम्बोधन गर्थे । बाजर रातमा हिँडडुल गर्ने रात्रिकालिन, जमिन मुनि दुलोमा बस्ने, लाटो-लाटो स्वाभावको प्राणी हो ।

मेरो बानी पनि त्यस्तै त्यस्तै भएर हो की उनिहरुले मलाइ ‘बाजर’ भनेको ? ती साथिहरु भुस भएर सुत्दा म  साइड ल्याम्प बालेर रातभर जाग्राम बसेर पढ्ने बानीका कारण पनि हुन सक्छ ‘बाजर’ कहलाइएको ! मलाइ बाजर भनेको एक जन्तुको नाम हो भनि त्यतिबेला थाहा भएन । ती मित्रहरूले राखिदिएको मेरो उपनाम ‘बाजर’ एक जनावरको नाम हो भनि पछि मात्र थाहा भो, मैले पनि तीनलाई ‘बुल/अक्स’ (गाईको बाच्छो, गोरु, साँढे) के के भनि बोलाउँथे बोलाउँथे । के गर्ने दिमागमा आएन यी कुराको त्यतिबेला ? यी बेलायतीहरू गोरुको मासु खाने भएर होला गाईको बाच्छो जस्तो अनुहारको देखिन्छन ।

पछि डिग्री पढन आइयो युनी । इकोलोजी बिषयमा बाजर सम्बन्धी स्यानो सोधपत्र लेख्न पर्यो । यस जनावरको बासस्थान, आहारा सिक्री र पर्यावरणीय महत्व बुझ्ने राम्ररी मौका पाएँ । यिनीहरूको अधिकार र संरक्षणको लागि बाजर प्रोटेक्सन एक्ट १९९२ नियम पनि बनाइएको रहेछ। बल्ल याद आयो मेरा अग्रेंज साथिहरूले त्यतिबेला मलाइ ‘बाजर’ भनि बोलाएको । बाजरहरू ठुलो समुहमा उडल्यान्ड, झाडीयुक्त बन, गौचरन, खेतका ढिक जस्ता ठाउँमा जमिनमुनी लामा लामा सुरुङ खनेर बस्छन । कहीले काहिँ त यी सुरुङहरू कृषकका घर, गोठ र सडकका मुन्तिर पुग्दा यस्ता संरचना भत्किएका पनि छन् ।

बाजरहरू गड्यौला, किरा फट्याङ्रा, कमिला देखि साग-सब्जि, फलफुल, मकै इत्यादी खाएर बाँच्दछन । आफ्नो ईलाका घेर्ने क्रममा बाजरहरू यी ठाउँहरुमा गै दिसा पिसाब गर्दा यसैबाट गाइबस्तुलाई टिभी सरेको पाइएको छ । गत साल टिभी ग्रसित २८ हजार बाइबस्तु मारिनुपर्दा सरकारको मिलियन पाउन्ड बराबरको खर्च भएको थियो । अहिले आएर जब टेलिभिजन र समाचारपत्रमा सुन्छु बेलायतको समरसेट र गल्सेस्टरसायर प्रान्तमा धमाधम गोली हानिएर यी बाजरहरूलाई मारिदै छ ! मलाइ भान भैरहेछ ती गोलीहरू मेरो शरिरमा डमडम लागिरहेछन । बाजरको जनसङ्ख्या न्युनिकरनको लागि गरिएको यो हत्या यिनीहरूले सार्ने टीभी रोगको बिरुद्दमा दिईएको सजाय जस्तो लागेको छ ।

तर यो सजाय कुनै न्यायालयका न्यायाधिसले फैसला गरेको न भै केही कृषिजन्य क्रियाकलापलाई समर्थन गर्ने सांसदहरुले पासगरेर लागु गरिएको निति हो । जसलाई यहाँका बन्यजन्तु संरक्षण संस्थाहरू, जस्तै बाजर ट्रस्टले घोर बिरोध गरिरहेका छन । बिरोध र्यालिका बावजुद पनि ती भेगका झन्डै ७० प्रतिसत अर्थात पाँच हजार बाजरहरू धमाधम मारिदै छन । त्यो तेइस बर्ष अगाडीको अवधी ऐले सम्झिदा मलाइ लाग्दैछ ती मारिने पाँचहजार बाजरहरुमे मध्ये म पनि एक हुँ ।

बिजय हितान ,बेलायत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %