दाङमा शनिवार एकिकृत नेकपा माओवादीका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ । डुरुवा गाविस–६ धमकापुर निवासी ३८ वर्षिय हरिशचन्द्र चौधरीमाथि अपरान्ह पौने ४ बजे गोलि प्रहार भएको हो ।
घरनजिकै गोरु चराउँदै गरेका चौधरीलाई ५ जनाको समुहमा आएका ब्यक्तिहरुले गोलि प्रहार गरेको प्रहरीको भनाई छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पारस हमाल, जगत चौधरीलगायत ५ जनाको समूहमा आएको व्यक्तिहरुले गोली हानेको प्रहरीले बताएको छ । चौधरीको दायाँ खुट्टामा एउटा गोली लागेको र गर्दन तथा कुममा खुकुरीको गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घटनामा संलग्न केही व्यक्तिहरु यसअघिका विभिन्न अपराधिक गतिबिधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो । घटनापश्चात् दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा घटनास्थल र आसपासका नाका तथा पूर्वपश्चिम राजमार्गमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । खुट्टाबाट गोली निकाल्न नसकिएको अस्पतालले बताएको छ । गोली हानेर सो समूह दक्षिणतर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यसैबिच आफ्ना जिल्ला सदस्य एवम् डुरुवा–६ भोजपुर वुथकेन्द्रका संयोजक हरिशचन्द्र चौधरीमाथि शनिबार दिउँसो भएको सांघातिक आक्रमणको एकीकृत नेकपा (माओवादी) दाङले कडा शब्दमा भत्र्सना गरेको छ । एकीकृत नेकपा (माओवादी) दाङका संयोजक निर्मल आचार्य ‘विमल’ले शनिबार एक विज्ञप्ती जारी गरी आफ्ना जिल्ला सदस्यमाथि ज्यान मार्ने उद्देश्यले भएको गोली प्रहारको भत्र्सना गरे ।
देविका घर्ती मगर,दाङ ।
माओवादी कार्यकर्तालाई गोली ठोक्ने यी समातिएलान्
Read Time:2 Minute, 42 Second
