पूर्वडीएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा

Read Time:4 Minute, 39 Second

नेपालमा गम्भीर प्रकृतिका आरोप लागेकाहरू विदेश भागेको वा लुकेको शंका गर्दै इन्टरपोलले ७९ जना नेपालीलाई रेडकर्नर नोटिसमा राखेकोछ। चोरी, ठगी र हत्याजस्ता गम्भीर अपराधमा ९ मुलुकले उनीहरूविरुद्ध नोटिस जारी गरेकाछन । नेपालद्धारा जारी नोटिसमा परेकामध्ये २०६६ मा सञ्चार उद्यमी जमिम शाहको हत्या हुँदा मिलेमतो गरेका नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन् । उनलाई नेपालले फरारको सूचीमा राखेको हो । यस घटनाका मुख्य अभियुक्त बब्बु भनिने दीपक शाही भारतीय नागरिक हुन् । उनले त्यतिबेला नै राजधानी छाडिसकेको निष्कर्ष प्रहरीले निकालेको थियो । इन्टरपोलमार्फत उनको खोजी गरिए पनि फेला परेका छैनन् ।

 वैदेशिक रोजगारको नाममा ठग्ने काठमाडौंका भूपेन्द्र खड्का पनि फरार छन् । उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाको ठगी आरोपमा नोटिस जारी गरेको हो । खड्काले ६ नेपालीलाई विदेश पठाउने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएकोछ । नुवाकोटका विष्णुबहादुर लामा र रामबहादुर तामाङसहित ३ जनालाई वैदेशिक रोजगारकै नाममा २ करोड़ १० लाख ठगी गरेको भन्दै रेडकर्नर नोटिस जारी छ ।

एक देशमा अपराध गरी अर्को मुलुकमा लुकेर बस्न सक्ने भएकाले रेडकर्नर नोटिस जारी गरी त्यस्ता अपराधीलाई खोजी गरिन्छ । नोटिस जारी भएपछि इन्टरपोलको सदस्यता प्राप्त गरेका मुलुकले अर्को मुलुकका अपराधीलाई फेला पारे सम्बन्धित देशलाई बुझाउनुपर्छ । विभिन्न मुलुकमा लुकी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनबीच सहकार्यका निम्ति अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो । यसमा नेपाल सन् १९९७ मा आबद्ध भएको हो । नेपाल इन्टरपोलको सयौं नम्बरको सदस्य हो । इन्टरपोलमा हालसम्म १ सय ९० देश सदस्य छन् ।

वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने ३ जना पनि इन्टरपोलको रेडकर्नर नोटिसमा छन् । अपहरणका मुख्य योजनाकार केशव दर्लामी मगर, राजेश छेत्री भनिने गोकुल गिरी र राजु थापा इन्टरपोलको सूचीमा फरार छन् । इन्टरपोल सूचीमा भारतीय जाली नोटको कारोबारमा कैद काट्दै गर्दा फरार भएका पाकिस्तानी नागरिक मोहम्मद जामिल पनि छन् ।

वन्यजन्तुको छाला गैरकानुनी रूपमा राखेका अमेरिकी नागरिक इयान वाकर पनि फरार छन् । नेपाल प्रहरीका अनुसार विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन मिल्छ । तर अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन सक्ने अवस्था छैन । नेपालमा सुपुर्दगी सन्धि नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने प्रहरीको भनाइ छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेका उदाहरण प्रशस्त छन् । २०६३ मा भारतमा मानव मृगौला निकालेर बिक्री गरी फरार रहेका भारतीय डाक्टर अमित कुमारलाई चितवनमा पक्राउ गरेर भारतको जिम्मा लगाइएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेकालाई मात्र रेडकर्नर नोटिस जारी हुने गर्छ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %