स्थानिय भाषा संरक्षणमा विशेष ध्यान गए आफ्नो पहिचान जोगाउन सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विगत देखि नै प्रयोगमा आएका लिपि तथा भाषाका सवालमा विशेष ध्यान दिन आवश्यक भएको मिडिया प्वाइन्ट रोल्पाले शनिवार आयोजना गरेको भाषा सच्याउ कार्यक्रमको क्रममा बोल्ने बत्ताहरुले जोड दिएकाछन् ।
उनीहरुले स्थानिय रुपमा काम गर्ने विभिन्न संघ संस्था भएपनि भाषा तथा संस्कृति सम्बद्र्धनमा भने ध्यान नगएको प्रति चिन्ता व्यक्त गर्दै यस तर्फ ध्यान केन्द्रित गर्न ध्यान आर्कषण समेत गराएका छन् ।
अहिले देशमा पहिचानको कुरा उठिरहेको र राजनिति नै यसतर्फ तानिएको अबस्थामा आफ्नो भाषा, संस्कृति संरक्षणमा गम्भिर भएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का मध्यपश्चिम संयोजक तथा नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष खेम बुढा मगरले बताए । अन्य स्थानबाट आउने विभिन्न आगन्तुकहरुलाई गलत सन्देश जाने र जिल्लाको पहिचानको सवालमा प्रश्न चिह्न खडा हुने भएकोले भाषाको संरक्षणमा सबैको ध्यान जान आवश्यक औल्याउँदै यसतर्फ अझ जागरुक भएर लाग्न साहित्यकार डिबी टहरोले अनरोध गरे । अर्का साहित्यकार ओम पंछीले भाषाको सामान्य जानकारी सम्म नभएकै कारण विकासमा यसले नराम्रो दुरगामी प्रभाव छोड्न सक्ने भन्दै स्थानिय विभिन्न पत्रपत्रिका, कार्यालय प्रयोजनका लेटरप्याड लगायतमा समेत शब्दको प्रयोगले फरक अर्थ दिइरहेको यसतर्फ सचेत बन्नुपर्ने बताए ।
स्थानिय बुद्धिजीबी वसन्त शर्माले सबैको नजर त्रुटिमा पर्ने भएपनि सच्याउने काम कसैबाट नहुने गरेको अवस्थामा यस किसिमको कार्यक्रमले गतिलो सन्देश दिएको भन्दै आगामी दिनमा सम्बन्धित निकाय यसतर्फ बढि जिम्मेवार बन्न सुझाव दिए । सदरमकामको मुटु मानिने टुडिखेल लगायत अन्य स्थानमा लिबाङलाई चिनाउने भनेर राखिएका सार्वजनिक बोर्डमा गलत शब्द प्रयोग भएको पाइएपछि त्रिवेणी आर्टको सहयोगमा मिडिया प्वाइन्ट रोल्पाका अध्यक्ष रोहित केसीको नेतृत्वमा पत्रकारको टोलीले शब्द सच्याउन पहलकदमी लिएको हो । रोल्पामा मगर भाषाका आधारमा ठाउँ तथा गाउँको नाम राखिएको तर नाम पछाडि बाङ भएपनि वाङ प्रयोगमा आएकोप्रति मिडिया प्वाइन्टले ति ठाउँका पछाडी बाङ नै राख्न ध्यान आकृष्ट गर्दै सबैलाई अनुरोध समेत गरेको छ ।
देविका घर्ती मगर,दाङ ।
