चुनाव विशेष- एमालेलाई किन भो मगर एलर्जी !

Read Time:9 Minute, 43 Second

पोखरा, असोज १८

मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि विभिन्न पार्टीले पश्चिमाञ्चलका ४९ वटै क्षेत्रबाट प्रत्यक्षका उम्मेदवारहरु छानेका छन् । ठूला दल नेकपा एकृकित माओवादी र नेपाली कांग्रेसले पश्चिमाञ्चलबाट मगर उम्मेदवारलाई न्यून टिकट दिएकाछन् भने मगरको भातृसंस्था नै बनाई मगर केन्द्रित राजनीति गरिररहेको नेकपा एमालेले यस भेगबाट एउटा पनि मगर उम्मेदवार उठाएको छैन । मगरबाहुल्य रहेका जिल्ला पाल्पा, म्याग्दी, बाग्लुङ, नवलपरासीमा समेत एमालेले एउटा पनि मगर उम्मेदवारलाई टिकट नदिएपछि एमालेभित्र रहेका मगर नेताहरुमा तीव्र असन्तुष्टि देखिएको छ ।

 एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक मगर संघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले आन्तरिक रुपमा यसको चर्को विरोध गरेको दावी गरेकाछन्। केही जिल्लाका पदाधिकारीले भातृ संगठनको औचित्य नरहेको भन्दै राजीनामा दिने तयारी गरेको समेत बताईन्छ । पश्चिमाञ्चलमा १६ जिल्लाका ४९ निर्वाचन क्षेत्रमध्ये ४ जिल्लाका १३ क्षेत्र मगर बाहुल्य भए पनि कुनै क्षेत्रमा एमालेले मगर उम्मेदवार बनाएन ।

४९ क्षेत्रबाट ३ जनाको नाम  प्रत्यक्षका लागि  सिफारिस भए पनि एउटा नपर्नू पार्टीले पूरै वेवास्ता गरेको एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक मगर संघका पाल्पा अध्यक्ष ओम घर्तीमगरले दावी गरे । उनी नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला समिति पाल्पाका अध्यक्ष समेत हुन् ।  ४९ क्षेत्रमध्ये नवलपरासी क्षेत्र नंं २ बाट रोशनबहादुर गाहामगर, पाल्पा क्षेत्र नंं १ बाट देविलाल लामिछानेमगर र क्षेत्र नं. ३ मा ओम घर्तीमगरलाई प्रत्यक्षका लागि उम्मेदवार सिफारिस पठाइए पनि टिकट पाएनन् । २०६८ को जनगणना अनुसार पाल्पामा सबैभन्दा बढी जनसंख्या मगरको छ । ५५ प्रतिशत मगरको जनसँख्या भएको पाल्पाका ३ वटै क्षेत्रमा मगर बाहुल्य छ ।  स्याङ्जा र तनहुँमा मगरको जनसंख्या दोस्रो नम्बरमा छ ।   

टिकट वितरणबाट असन्तुष्ट भएपछि एमालेका पाल्पा सचिव ओम बहादुर घर्तीमगरले नेपाल लोकतान्त्रिक मगर संघ  र नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला समिति पाल्पाको अध्यक्ष पदबाट राजीनामा दिने बताएकाछन् । ‘पार्टीको जिल्ला कमिटिमा बसेको १६ वर्ष भयो, प्रत्यक्षमा क्षेत्र नं. ३ बाट उम्मेदवारमा मेरो पनि सिफारिस थियो । केन्द्रमा चाकडी गर्न गइएन । आउँछ आउँछ भन्दाभन्दै फुस्सा भयो’ एमालेका पाल्पा सचिव घर्तीमगरले भने,‘संगठनमा मगरको पडक छैन । भोटर्स मात्रै छ । मगरात पश्चिममा एउटा पनि मगर उम्मेदवार नपर्नू खेदजनक हो ।’ यस्तै म्याग्दी, बाग्लुङ र नवलपरासीमा मगर समुदायको जनसंख्या पहिलो नम्बरमा आउँछ । म्याग्दीमा ३८ र बाग्लुङमा २७.४६ प्रतिशत मगरको जनसँख्या छ । यी तीनै जिल्लामा मगरका केन्द्रस्तरका नेता पनि छन् । काम गर्नेबेला मात्रै पार्टीले सम्झिने दावी गर्दै उनले पार्टीको जातिय भातृ संगठनमा बस्नुको औचित्य समाप्त भएको बताए । 

एमालेको भातृ संगठन लोकतान्त्रिक मगर संघका केन्द्रिय अध्यक्ष दलबहादुर रानामगरले प्रत्यक्ष र समानुपातिकबाट थुप्रै मगर नेताको नाम पठाएपनि पश्चिम क्षेत्रबाट एउटा पनि मगर नपर्नु अचम्मलाग्दो भएको दावी गरे ‘मगरलाई प्रत्यक्षमा उम्मेदवार बनाउन केन्द्रिय पार्टी कार्यालयमा पनि गयौं । धेरै प्रयत्न गरियो । कसरी परेन । यो दुखद कुरा हो’ उनले भने,‘जातिय जनसख्याको आधारमा मगरले धेरै सिट पाउनुपर्ने हो । अब समानुपातिकबाट मिलाउन दबाव दिन्छौं ।’

एमालेको भातृ संगठन लोकतान्त्रिक मगर संघका केन्द्रिय सचिव रमा आलेमगरले अझै पनि एमालेले मगर समुदाय र मगर नेतालाई  हेर्ने दृष्टिकोण नबदलिएको प्रष्ट देखिएको बताइन् ।‘योग्यता र क्षमता हुँदाहुँदै पनि मगर नेताहरु कुटनीतिक चालबाजा गर्न नजान्नेमा पर्छन्’ उनले भनिन्,‘पार्टीको इमान्दार र सोझो कार्यकर्ता भएकाले नै पाखा लगाइएको हो ।’ उनले पश्चिम क्षेत्र मगरबाहुल्य भएकाले पार्टीले नसमेट्नु दुर्भाग्यपूर्ण भएको सुनाइन् ।     

मगर बाहुल्य जिल्ला म्याग्दीकी एमाले नेत्तृ लोकतान्त्रिक मगर संघका केन्द्रिय सदस्य नरदेवी पुनमगरले पश्चिम क्षेत्रबाट एक जना पनि मगर उमेदवार नबनाएर पार्टीले ठूलो भुल गरेको दावी गरिन् । ‘लोकतान्त्रिक मगर संघका पदाधिकारीले पार्टीमा जुन किसीमको रोल खेल्नुपर्ने त्यो खेलेनन् । मगरले पार्टीभित्र लडाइ गर्नूपर्छ’ उनले भनिन्,‘आदिवासीको नाममा अरुले टिकट पाउने मगरले नपाउने कुरा मलाई मान्य छैन । अब हामीले समानुपातिक सहभागीताबाट यसको क्षतिपूर्ती खोज्न जरुरी छ ।

तर एमालेका मगर नेताहरुले दावी गरिए जस्तो सिफारिस गरिएको कुरा जिम्मेवार नेता स्विकार्देनन् । एमालेका गण्डकी धौलागिरी संयोजक खगराज अधिकारीले दुवै अञ्चलका २३ क्षेत्रबाट मगर उम्मेदवारलाई प्रत्यक्षमा सिफारिस नगरिएको बताए । ‘तनहुँबाट टेकबहादुर रानामगरलाई भनेको उहाँ समानुपातिकतर्फ उन्मुखतर्फ हुनुभयो ’ उनले भने ।
एमालेका लुम्बिनी प्रमुख छविलाल विश्वकर्माले पश्चिमाञ्चलका ४९ क्षेत्रबाट एक जना पनि मगर उम्मेदवार नहुनु पार्टीको कमजोरी र त्रुटि भएको स्वीकारे । ‘पश्चिम क्षेत्रमा मगरको बहुलता छ, एक जना पनि मगर नपर्नु कमजोरी हो’उनले भने,‘अब समानुपातिकबाट यसको क्षतिपूर्ती दिनुपर्छ ।’

एमाले मात्र होईन पहिचानको सबैभन्दा चर्को नारा लगाउने एकिकृत नेकपा माओवादीले समेत मगर उम्मेदवारलाई महत्व दिएको देखिदैन । एमाओवादीले पश्चिमाञ्लमा धौलागिरी अञ्चलमा म्याग्दीमा लोकेन्द्र बिष्टमगर र बाग्लुङ २ मा लिलाबहादुर थापामगरलाई उम्मेदवार बनाएको छ । यस्तै तनहुँ क्षेत्र नं. २ मा ओमराज आलेमगरलाई उठाएको छ भने एमाओवादीले मगरातको राजधानी भन्ने पाल्पा क्षेत्र नं. १ मा तेजेन्द्र सिंजालीमगरलाई उम्मेदवार बनाएको छ । पश्चिमाञ्चलमा मगर मतदाता तेस्रो स्थानमा आए पनि चार जना मात्रै उम्मेदवार अर्थात ८.१६ प्रतिशत मगर उम्मेदवार छन् । 

एमाओवादीले मगरात क्षेत्र भन्ने गरेको ठाउँबाट नै मगर उम्मेदवार कम महत्व दिन्छ भने उसले मगरलाई अधिकार हैन लड्न -लडाउन र भोट बटुल्न मगरातको सपना देखाएको प्रष्ट देखिएको छ । बरु जनजातिद्वारा पहिचानको बिरोधिको रुपमा प्रचार गरिने नेपाली कांग्रेसले बरु माओवादी बराबरकै उम्मेदवार दिएकोछ । कांग्रेसले म्याग्दीमा खम्बिर गर्बुजामगर, तनहुँ क्षेत्र नं. ३ मा जितप्रकाश आलेमगर, पाल्पा २ मा वीरबहादुर रानामगर र गुल्मी १ मा कृष्ण छन्त्यालमगरलाई उम्मेदवार बनाएको छ ।

पश्चिमाञ्चलमा २०६८ को जणगनना अनुसार मगरको जनसंख्या ८ लाख २१ हजार ५ सय ३० रहेको छ ।

मनोज घर्तीमगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %