दाङ, भदौ २८
नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपाली सञ्चारमाध्यमलाई समाबेशीकरण गर्नुपर्ने औल्याएकाछन । राप्ती अञ्चलका आदिवासी जनजाति पत्रकारहरुका लागि दाङको घोराहीमा सञ्चालन गरिएको तीन दिने आधारभुत पत्रकारिता तालिमको आज शुक्रवार समापन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष गुरुङले त्यस्तो कुरा औल्याएको हो ।
तालिम समापन कार्यक्रमको प्रमुख अतिथी अध्यक्ष गुरुङले राज्यको निती/नियमका कारण नेपाली जनजातिहरुको विकास हुन नसकेको बताए । नेपालका आदिवासी जनजातिहरु कहिलेपनि एकल जातिय राज्यको पक्षमा नभएको भन्दै उनले यसलाई गलत ब्याख्या गरेर आदिवासी जनजातिहरुलाई दोषि देखाउने काम भैरहेको बताए । अहिलेसम्मकै एकल जाति, एक भाषा, एक संस्कृति, एक धर्म चलिआएकै कारण नेपालमा अब सबै संस्कृति, परम्परा, धर्म, समुदायको अस्तित्व स्विकार गर्न सक्ने संघियताको आवश्यकता रहेको भन्दै यसतर्फ सचेत आदिवासी जनजाति पत्रकारहरुले भुमिका खेल्न जरुरी भएको उनको भनाई थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले राजनीतिक स्वार्थका कारण समस्या उत्पन्न भएको बताएका थिए । कार्यक्रममा फोनिज मध्यपश्चिमका संयोजक खेम बुढा मगर, मुख्य प्रशिक्षक तथा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष लक्की चौधरी, नेपाल आदिवासी जनजाति महासंघ दाङका निबर्तमान अध्यक्ष सोगतविर चौधरी, तालिमका सहभागी सुजल श्रेष्ठ, देबी गुरुङलगायतकाले बोलेकाथिए । तालिम समापन कार्यक्रमको सहजीकरण पत्रकार प्रेमबहादुर राम्जाले गरेका थिए ।
फोनिज केन्द्रको सहयोग तथा फोनिज दाङको समन्वयमा तालिम सञ्चालन भएको थियो । तालिममा राप्ती अञ्चलका पाँचै जिल्ला रोल्पा, प्युठान, सल्यान, रुकुम र दाङका २३ जना आदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव राजेश राई, फोनिजका मध्यपश्चिम संयोजक खेम बुढा, फोनिज दाङका निवर्तमन अध्यक्ष जेएन सागर र थारु पत्रकार संघ दाङका सल्लाहकार लक्ष्मीमान चौधरी थिए ।
देविका घर्ती मगर
