एकीकृत नेकपा माओवादीले आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई हत्या आरोपमा पक्राउ गरिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष प्रचण्ड निवासमा बिहान बसेको केन्द्रीय कार्यालय बैठकले अधिकारीको रिहाईको माग गर्दै आन्दोलन थाल्ने निर्णय गरेको हो । बैठकले प्रारम्भिक विरोधका कार्यक्रमअन्तर्गत आगामी २८ भदौमा देशका ७५ वटै जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा धर्ना दिने निर्णय भएको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।
बोगटीका अनुसार बैठकले द्वन्द्वकालीन घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत लगाउनुपर्नेमा पार्टीलाई बदनाम गराउने तथा कार्यकर्ता फसाउने उद्देश्यले पूरानै कानुनअन्तर्गत कारबाही गर्न लागिएकामा बैठकले आपत्ति जनाएको छ । द्वन्द्वकालका मुद्दा ब्युँताएर संविधानसभा निर्वाचन प्रभावित नगर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा गत २१ भदौमा प्रहरीले रामप्रसादलाई काठमाण्डुबाट पक्रेको थियो ।
आनन्द गुरुङ
माओवादीले ७५ वटै प्रशासन कार्यालय घेर्ने
Read Time:1 Minute, 45 Second
