टाकुरे मगर राजाहरुको धङ्धङी

Read Time:11 Minute, 11 Second

कास्की (धौलागिरी) मा बसोबास गर्ने पुन मगरको सन्तान म । विगतको राज्यसत्ताकै कारण अठार मगरात मगर भाषा (खाम) बोल्ने मेरो पुर्खाहरु भाषा विहिन भए यसर्थ म पनि मगर भाषा विहिन नै जन्मे ।


मेजन पुन मगर

 

खस भाषीको रुपमा जन्मेपनि आफ्नो जातिभित्र बोलिने ठेट शब्द अझै म भित्र पाउन सकिन्छ । मेरो समाजमा त यत्रतत्र छ नै । मगर समाजमा म, २०५० सालदेखि (मगर विद्यार्थी संघ) निरन्तर कुनै न कुनै पक्षबाट संस्थागत रुपमा संलग्न छु ।  २० वर्ष भनेको कुनै नोकरीमा भए अवकास पाउने उमेर हो । मगर समाजमा हिंड्ने क्रममा मगर भाषा नबोल्ने मगर होइनन्— भनियो । म मगर भाषा नबोल्ने व्यक्ति तीन छक्क पर्न शुरु भएँ । मगरको पुर्खा— बाजे बजैलाई सुँगुरले पुज्नु पर्छ— भनियो । दुई वर्ष जति पुज्न पनि पुगें । अलि पछि त मैले पनि जवाफ फर्काउने भए— मगर गाउँमा त दलितहरु पनि मगर भाषा बोल्छन्— उसो भए उनीहरु मगर हुन् त ? अनि म सुंगुरले आफ्नो पुर्खा पुज्ने मगर होइन— भेंडा र भालेले करबाकेली पुर्खा पुज्ने मगर हो भनेर भन्न पनि थाले । विगतमा त झन हामी गोरुले कुल पुज्ने मगर हो रहेछौं । हामीभित्र रहेको फरकपनलाई किन आत्मसात गर्न सक्दैनौं— हामी ।

मैले मेरो बजैले निलो पटुकी लगाएको सानैदेखि देख्दै आएको हो । तर मगर समाजमा हिंड्ने क्रममा पहेंलो पटुकी मात्र मगरले लगाउने भनेर एकरुपता ल्याउन खोजियो । अझै पनि मगरले पहेंलो पटुकी लगाउने हो भनेर भनिन्छ । मगर समाजमा लाग्दा मैले मेरो बजैले लगाएको निलो पटुकी बिर्सिनु पर्ने अवस्थाको सृजना भयो । अझ पश्चिमतिर त झन हरियो, रातो पटुकी लगाएको मगरहरु पनि छन् । उनीहरुले पनि आफुले लगाउँदै आएको पटुकीको रंग बिर्सिनु पर्ने भयो । अनि मात्र मगर भईने भए । पटुकीको रंगले पनि मगर र अमगर हुने अवस्था सृजना हामीले ग¥यौं ।

मेरो भाउजुको गाउँ हाम्रो गाउँदेखि पल्लो डाँडामा पर्छ । भाउजु र हाम्रो जात— जातले पुन मगर भएर पनि थर फरक छ । र, संस्कार पनि हामीभित्र गाउँ अनुसार अलि फरक पाइन्छ । विहे गर्दा हाम्रो गाउँमा यतिनै कोशेली ल्याउ भन्दै केटा पक्षलाई तोक्दैनौं । भाउजुको गाउँतिर चाहिं यति बोतल रक्शी, यति मासु र यति वटा रोटी लिएर आउनु पर्छ ढोग भेटमा भनेर भनिन्छ । यो पनि हामीभित्रैको चलन (संस्कृति) त हो । अर्थात मैले भन्न खोजेको कुरा के भन्दा वल्लो डाँडा र पल्लो डाँडामा पनि चलन (संस्कार) र बोल्ने तरिकामा फरकपन छ भने पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने मगर समाजभित्र त झन कति छ कति ? यसर्थ हामी भित्र रहेको विविधतापूर्ण संस्कार र संस्कृतिलाई एकरुपतामा ल्याउनु भन्दा मगरको विविधतालाई आत्मसाथ गरेर सबैले सबैको जीवनयापन गर्ने तरिकालाई सम्मान गर्ने वातावरण सृजना गरे हामी अझ एकजुट हुन सक्छौं । के हाम्रो समाजमा यस्तो हुन सक्दैन ? आफु जन्मे हुर्केको संस्कार र संस्कृति मात्र मगरको संस्कृति हो भन्नु अब सोह्रैआना गलत हुने छ ।

विद्वान एम.एस. थापा मगरले मगर भाषाको लिपीको रुपमा अख्खालिपी खोज गरेर तर्क सहित ल्याउनु भयो । यो लिपीलाई पनि केही विद्वानहरुले मगरको लिपी यो हुँदै होइन भनेर मान्नै खोजेनन् । मगर समाजमा यो लिपी लागु भईरहेको अवस्थामा पनि विरोध गरियो । मगर भाषाको लिपी यो होइन भन्नको लागि पनि त अर्को लिपी त ल्याउनु प¥यो नि । तर्क त दिनु प¥यो नि । तर अर्को लिपी पनि नल्याउने भएको लिपीलाई पनि नमान्ने यसरी पनि मगरको प्रगति हुन्छ र ?

मगर संघले विगत देखि नै लखन थापा मगरलाई प्रथम शहीद भनेर राज्यले घोषणा र सम्मान दिनुपर्छ भनेर कार्यक्रम गरिरहेको अवस्थामा राज्यले अनकनाइरहेको छ । शहीद त भन्यो तर प्रथम भन्न सकिरहेको छैन । फेरि टुलु पाईजालाई प्रथम शहीद भनेर हामी मगरले नै अगाडि सार्छौ । यसले हामी मगरबीच फेरि विभाजनको रेखा कोर्ने निश्चित छ । यो कुरा खोजमुलक र यथार्थ नै थियो भने पनि संस्थागत छलफल गरि आएको भए राम्रो हुन्थ्यो । यो कुरा सही हो होइन— आँखा चिम्म गरेर एक थरि मगरहरु टुलु पाईजालाई प्रथम शहीद घोषणा गर भन्दै नारा जुलुस शुरु गरेको अवस्था पनि छ । आदिवासी जनजातिमा सुचिकृत गर्नको लागि पुनलाई अल्पसंख्यक जातिमा सुचिकृत गर्न हिंडेको अवस्था पनि आयो । जब कि यो आन्दोलनका अगुवाहरु विगतमा मगर संघको झण्डामा नै गोलबद्ध व्यक्तिहरु नै हुन् ।

अब बाह्र मगर भाषामा लेखिने मानकको कुरा गरौं । २०५० सालमा बाह्र मगरात मगर भाषाको मानकबारे छलफल गरि एउटा निष्कर्ष गरिएको रहेछ । र, समय सँगै ०६७ सालमा नेपाल मगर लेखक संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको रहेछ । त्यहाँ देखि पहिलेका अप्ठ्यारो लेखनलाई फरक तरिकाले लेख्ने भनेर छलफल भएको पनि रहेछ । कसैलाई पुरानै मानक ठिक लाग्यो होला । कसैलाई व्यवहारिक भएन भन्ने लाग्यो होला । त्यसैले दुई प्रकारले मगर भाषा लेख्न थालिएको रहेछ । मानक लेखनको त्यो कार्यक्रमले बाह्र मगरात मगर भाषा (ढुट) मा लेख्ने लेखकहरुलाई एउटै मालामा जोड्ने प्रयास गर्ला भन्दा लेखन प्रक्रियामा पनि भिन्नता ल्याएको जस्तो लाग्यो । यसै गरि अठार मरात मगर भाषा खामलाई खाम भन्ने कि पाङ भन्ने यसमा पनि पक्ष/विपक्ष शुरु भयो । तर्क सबैको सुनौं निर्णय एउटा गरे हुँदैन र । लोकतन्त्रको बेला आफुले भनेकै कुरा हुनु पर्छ भन्ने पनि हुन्छ र ? यस्तो किन हुन्छ— हामीमा ?

गोरेबहादुर खपाङी मगर कुनै राजनैतिक पार्टीमा आवद्ध भएपनि उनले आदिवासी र मगर समाजको लागि कति योगदान दिनु भयो । यसको कुनै लेखाजोखा नै छैन । सानो उदाहरणको रुपमा अहिले रडियो नेपाल र एफ.एम.हरुमा मगर भाषामा कार्यक्रम गरिन्छ । सर्वप्रथम रेडियो नेपालमा मगर भाषामा कार्यक्रम हुनुपर्छ भनेर मगर संघले कार्यक्रम गरेकै हो । जसको संयोजकत्व खपाङी सरले नै गर्नु भएको हो । अब मगर भाषामा कार्यक्रम संचालन हुने रेडियो नेपाल र ती विविध एफ.एम.का प्रोस्तोताहरुले वहाँ अहिले विरामी हुनुभएको समाचार सम्प्रेषण वा सुचना प्रसारण गर्छन् कि गर्दैनन् कुन्नी ? मगरको लागि वहाँले योगदान दिनु भएको कुरा घाम झै छर्लङ छ । तर वहाँलाई पार्टीगत फरकपन भएकै कारण सहयोग गर्न पनि अनकनाउँछन् । उहाँको योगदानलाई हत्केलाले सुर्य छेक्न खोजेझै गर्छन एकथरि— मगरहरु । राजा ज्ञानेन्द्रलाई पैसा चढाउने अन्य पार्टीका नेताहरु, राजाकै कालमा बनेका प्रधानमन्त्री, मन्त्रीहरु शुद्ध भईसके लोकतन्त्रवादी वरिष्ठ नेता बनिसके तर खपाङी मगर अझैसम्म राजावादी भईरहेका छन्— हामी माझ । किन हुन्छ— यस्तो ?

यो माथि सबैको एउटा उत्तर चाहिं पक्कै यसो भएर हो कि जस्तो पनि लाग्न थाल्दैछ— मलाई । विगतमा हामी भुरेटाकुरे राज्यका राजाहरु थियौं । त्यो राजा भएको धङधङी हामीभित्र अझै जिउँदै भएर यस्तो पो भएको हो कि ? राजा भएपछि एकले अर्कोको कुरा कहाँ मान्छौं र हामी । चाहे त्यो सही भए पनि गलत हो भनेर अर्को टाकुरे राजाले त जसरी भए पनि भन्नै पर्ने भो नि । यो सँग राजनैतिक र धार्मिक कारण पनि जोडिएर आउँछ । मगर संघले एकातिर गर्छ— वरिष्ठहरु अर्कोतिर काम गर्छन् । कि कसो हो र मगर व्यक्ति/व्यक्तित्वहरु ? कहिले काही त मगर संघले गरेको निर्णय पनि हाम्रो लागि मान्य हुँदैन । हामी भित्रको त्यो टाकुरे राजाको धङधङी यथावत राख्ने कि, समय सापेक्ष परिवर्तन पनि गर्ने ? ब्रिटिश साम्राज्यका राजा÷रानी र विश्व जित्न हिंडेको जापानका राजाहरु त अहिले आफ्नो जीवन सर्वसाधारण रुपमा बिताईरहेको अवस्था छ । हामी चाहिं टाकुरे राजाको धङधङी फाल्न नसक्ने ? हामी भित्र के त्यस्तो चिज जीवित छ— जसलाई हामी समय सापेक्ष परिवर्तन गर्न सक्दैनौं ? के त्यस्तो स्वभाव छ– जसलाई तिलाञ्जली दिन/गर्न सक्दैनांै । यही धङधङी कतै मगरको प्रगतिको बाधाको रुपमा हामी सामु विशाल पहाड बन्दै-बनिरहेको त छैन ? यसको लागि सचेत हामी मगर नै होऔं ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %