जाने हैन लामा-झाँकीको ज्ञान भण्डार मार्गपोखरी ?

तेह्थुम जिल्लाको आङदिम गाविसमा रहेको मार्ग पोखरीले थुप्रै सम्भावनाहरु वोकेर पनि ओझेलमा परेको छ । यो पोखरी तेह्थुम जिल्लाको पश्चिमी क्षेत्र आङदीम गाविसको वडा नं ७ मा पर्दछ । मार्गपोखरी रमणीय र सुन्दर छ । प्राकृतिकरुपले सिंगारिएको मार्गपोखरी आफैमा जति सुन्दर छ यसको धार्मिक महत्व यो भन्दा वढी छ ।
धनकुटा जिल्ला सदरमुकाम देखि करिव ३० किलोमिटर उत्तरमा पर्ने मार्गपोखरी पुग्न धनकुटाको सिधुवा वजारवाट करिव आधा घण्टा पुर्व उत्तर पैदल हिडनु पर्छ । कोशी राजमार्गले छोएको सिधुवा वजार नजिकै रहेको यो मार्ग पोखरी समुद्र सतहवाट २ हजार ७ सय मिटरको उचाईमा रहेको छ । यो पोखरीलाई पुर्वी पहाडी क्षेत्रका धेरैले धार्मिक महत्वकोरुपमा हेर्ने र पुज्ने गर्दछन् । यो निक्कै उचाईमा रहे पनि मार्गपोखरीमा कहिल्यै पानी नसुक्ने र जति नै वर्षा भए पनि कहिल्यै भरेर पानी वाहिर नवग्ने यसको विषेश्ता हो । पोखरी सधै सफा हुन्छ । वरीपरि जंगल भएपनि कुनै पात पतिंगर पोखरीमा हुदैन । पात पतिंगर पोखरीमा परे चराले टिपेर फ्याल्ने गरेको स्थानियवासीहरु वताउछन् । यो पोखरी धेरै पहिले देखि रहेकोले यसको  धार्मिक महत्व वढी रहेको पनि वताईन्छ ।

 यहाँ फोहर गर्यो भने अनिष्ट हुने र पुजा गरे मार्गपोखरी खुशी भई सवैको भलो गर्ने जनविश्वास छ । यसले गर्दा यहाँ प्रत्येक वर्ष जनै पुर्णिमा अर्थात भदौ पुर्णिमाको दिन स्थानियवासीले विषेश पुजा आजा नै गर्ने गर्दछन् । पुर्णिमाको अघिल्लो दिन टाढा टाढावाट धामी झाक्रीहरु गुफा वस्न आउने गर्दछन् । मार्ग पोखरीमा पुगेर पोखरीलाई तीन फन्का मारे पछि धामीहरु नजिकैको जंगलमा सानो कुटी वनाई एक्लै रातभरी धामी वस्ने गर्दछन् । उनीहरुका सहयोगीहरु भने धामी संग वस्न नहुने मान्यता छ । रातभरी मार्गपोखरीको आसपासमा धामी वस्न सक्यो भने मात्रै  धामीको तन्त्र मन्त्र जान्ने र तान्त्रीक हुने यो क्षेत्रको जनविश्वास रहिआएको छ । त्यसैले यहाँ हरेक वर्ष धामी अर्थात गुफा वस्न मार्गपोखरी धामीहरु पुग्ने गर्दछन् ।
 यहाँ धामी वस्न आउने जो कोही धामीलाई एक रात कटाउन निक्कै मुस्किल पर्छ । निक्कै उचाईमा रहेको मार्गपोखरीमा लेकको चिसोको प्रवाह नगरी धामीहरु रातभरी गुफा वसी सकेपछि विहान मार्गपोखरीमा पुजा गरेर घर फर्के पछि मात्रै धामीहरुमा तान्त्रिक ज्ञान हासिल हुने विश्वास छ । विषेश गरेर जनै पुर्णिमाको दिन मार्गपोखरीमा पुर्वको तेह्रथुम, धनकुटा र पाँचथर लगायतका गाँउहरुवाट धामीहरु गुफा वस्न आउने गर्दछन् । यहाँ एक दिन एकरात धामी मेला लाग्ने गर्दछ । भदौ पुर्णिमाका दिन स्थानियवासीहरु र तराईका विभिन्न जिल्लाहरुवाट समेत मार्गपोखरीमा पुजा आजा गर्न मानिसहरु पुग्ने गर्दछन् । यसले गर्दा यो मार्गपोखरी पुर्वको आस्थाको केन्द्रविन्दु वन्दै गएको मार्गपोखरीमा पुजा गर्न आईपुगेका राजकुमार लिम्वू वताउछन् ।

पुर्वको कोशी राजमार्गले छोएको सिधुवा वजारको नजिकै रहेको यो मार्गपोखरी २ हजार ७ सय मिटिरको उचाईमा रहेको छ । यो ठाँउवाट पुर्वका विभिन्न पहाडी गाँउहरु देखि लिएर तराईका समथर भुमि र कन्चन्जंघा, मकालु, कुम्भकर्ण हिमसृखलाहरु पनि देख्न सकिन्छ । मार्गपोखरी आसपासको हरिया सुन्दर घासे मैदान र सफा, स्वच्छ पानीले झन जो कोहीको मन तान्न सक्छ । वर्षायाममा छिन छिनमा कुहिरोले मार्गपोखरी छोपी दिने र छिनमै मौसम सफा हुने यसको अर्को विशेषता हो । यस्तो प्राकृतिक र धार्मिकरुपले सुन्दर पोखरीको प्रचार प्रसारको कमीको कारण ओझेलमा परेको वताउँछन् धनकुटाका पत्रकार विनोद घिमिरे ।

मुलुकमा पर्यटनको कुरा गरिरहँदा  यस्ता सुन्दर सम्पदाहरुको उचित प्रचार प्रसारको कमिको कारण ओझेलमा परिरहेकाछन् ।  मार्गपोखरीको राज्यवाट पर्यटन प्रर्वद्धनका लागि विषेश खालको पहल हुनुपर्ने देखिन्छ । मार्गपोखरीको संरक्षण र सम्वर्दनमा राज्यले चासो देखाई प्रचार प्रसार गरे पुर्वमा पर्यटन प्रर्वद्धनमा यसले निक्कै ठुलो सहयोग पुग्ने छ र मार्गपोखरी पुर्वको धार्मिक पर्यटकीय गन्तव्य वन्ने छ ।

 

भैरब आङ्ला,
मार्गपोखरी तेह्रथुमबाट फर्केर