राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय विस्तारित बैठक शुक्रबार (भदौ २१ गते) सकिएको छ । सिद्धार्थ कटेज, धोबीघाट, ललितपुरमा भाद्र १८ देखि शुरु भएको विस्तारित बैठकले संविधान सभाको निर्वाचनबाट सकेसम्म कुनै पनि पक्षलाई बाहिर राख्न नहुने निर्णय गरेको छ । साथै निर्वाचनमा सेनाको प्रयोग गर्न उपयुक्त नहुने समेत ठहर गरेको छ ।
बैठकले निर्वाचन प्रयोजनका लागि राखिने म्यादी प्रहरीमा भूतपूर्व सैनिक तथा प्रहरी मात्र समावेश गरिनुपर्ने माग गरेको छ । विस्तारित बैठकले जिल्ला ईन्चार्ज, राज्य परिषदका प्रमुख, भातृ संगठनका प्रमुख तथा केन्द्रीय नेताहरुको रिपोर्टिङ्ग र समिक्षापछि आगामी निर्वाचनमा पार्टीको हैसियत बलियो हुने ठहर गरेको छ ।
प्रत्येक्ष तर्फ २ सय भन्दा बढी क्षेत्रमा उम्मेद्वारी दिने र त्यस मध्ये २५ सीटमा अग्र स्थानमा देखिनुका साथै अन्य ३५ सीटमा प्रतिस्पर्धात्मक अवस्था रहेको तथा समानुपातिक तर्फ ८ लाखको हाराहारीमा मत प्राप्त हुने निष्कर्ष पनि बैठकले गरेको छ । बैठकले पार्टी अध्यक्ष एम.एस.थापा र महासचिव केशव सूर्यवंशीद्वारा प्रस्तुत भएको प्रतिवेदन पारित गर्नुका साथै आगामी निर्वाचन प्रयोजनका लागि अध्यक्ष एम.एस.थापाको संयोजकत्वमा वरिष्ठ नेताहरु राम बहादुर तुम्बाहाम्फे, डि.के.बुद्धिष्ट तामाङ्ग लगायतका केन्द्रीय नेताहरु सम्मिलित ‘केन्द्रीय निर्वाचन परिचालनसमिति’ समेत गठन गरेको छ ।
आनन्द गुरुगं
