जनमुक्ति बिचारधाराबारे बुझ्ने बुझाउने भैरहेकोछ

Read Time:7 Minute, 24 Second

मानध्वज ब्लोन (तामाङ्ग)
उपाध्यक्ष, राजमुपा

राष्ट्रिय जनमुक्ति पार्टी राजमुपा मा छैठौं वरियताका उपाध्यक्ष मानध्वज ब्लोन (तामाङ्) ६ राजनीतिक दलहरु सम्मिलित राष्ट्रिय शक्ति निर्माण तथा एकता अभियान नामक राजनीतिक मोर्चा हालै राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित भएपछि पार्टी संघीय परिषदको ११औं बैठकबाट उपाध्यक्षमा मनोनित भएकाछन ।

राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित हुनुको कारण ?
— हेर्नुस्, मूलुकको केन्द्रीकृत, एकीकृत, एकाङ्की शासन व्यवस्थाको बदलामा नयाँ नेपाल निर्माणको महान उद्देश्य बोकेर राष्ट्रिय जनमुक्ति पार्टीले विगत २२ वर्षदेखि शान्तिपूर्ण रुपमा जुन मुद्दाहरु उठाउँदै निरन्तर लडीरहेको छ यस बारेमा हामी बाहिरै रहेको अवस्थामा पनि व्यापक रुपमा ‘कन्भिन्स्ड’ भईराखेका हौं । मलाई लाग्छ, मूलुकको सामाजिक, भौगोलिक विशिष्टता अनुसारको राज्यसत्ताको स्वरुप देख्न चाहने अधिकाँश न्यायप्रेमी नेपालीहरुले यो अवश्य महशुस गरीरहनु भएको होला ।
राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित भईसकेपछि हामीले आफैमा गौरव अनुभूति गरेका छौं । यस पछाडि हामीले मूलुक र जनता प्रति अझै उत्तरदायित्व बोध गरेका छौं ।

देशको राजनीतिलाई कसरी हेरीरहनु भएको छ ?
 मूलुक संक्रमणकालिन अवस्थाबाट गुज्रीरहेको छ । सयौं वर्षदेखि उत्पीडनमा परेका र पारिएका तमाम उत्पीडित जाति, समुदाय, वर्ग, क्षेत्रका जनताका परिवर्तनका सदिच्छा अद्यापि ज्यूँका त्यूँ छन् । उनीहरुको अधिकारलाई कुण्ठित गर्न चाहने संकीर्ण मानसिकता भएकाहरुको बोलवाला कायम हुनुले मूलुकले दुःख पाएको छ । विशेष गरी ठूला दल भनिनेहरु त्यसमा पनि केही नेता विशेषको कारणबाट मूलुकलाई गुमराहमा राख्ने दुस्प्रयास भएको छ । यी र यस्ता विषयहरु ज्यादै खेदजनक छन् ।
हामी भन्न चाहन्छौं — मूलुकको उचित व्यवस्थापन हाम्रो पार्टीको ‘जनमुक्ति विचारधारा’ बाट मात्र सम्भव छ । ढीलो सही, नेपाली जनताले स्वर्णीम नेपालको परिकल्पना गर्नेहरुले ‘जनमुक्ति विचारधारा’ लाई अवश्य आत्मसात गर्नेछन् । हामीले पनि यस बारेमा व्यापक बहसको थालनी गर्न जोडदार प्रयत्न गरीरहेका छौं । नेपालको राजनीतिले तब मात्र सही बाटो समात्नेछ ।

 तपाईंलाई पार्टीले मध्य ब्यूरो (तामाङ्सालिङ्ग, नेवाः, मिथिला र भोजपुरा) को इञ्चार्जको जिम्मेवारी दिएको छ । पार्टीको सांगठनिक अवस्था आफ्नो क्षेत्रमा कस्तो पाउनु भएको छ ?
— यथार्थमा पार्टीले मलाई गहन जिम्मेवारी सुम्पेको छ । मलाई मात्र होईन राजमुपामा समाहित भएका हामी सबैलाई पार्टीले उचित मूल्याङ्कन गरी सांगठनिक जिम्मेवारी दिएको छ । यो ज्यादै खुशीको कुरा पनि छ । राजमुपा प्रति बढ्दो जनचासो छ यसले हाम्रो पार्टीलाई मजबुत बनाउन सकारात्मकता प्रदान गरेको छ ।
अर्को कुरा विभिन्न पार्टीहरु राजमुपामा समाहित भएकोले प्राविधिक समस्यालाई हल गरेर सांगठनिक मजबुती गर्ने कुरा पनि उत्तिकै गहन छ । यद्यपि यो पक्ष यस पार्टीको सवालमा चूनौतिपूर्ण छैन ।

आगामी मंसिर ४ गतेको लागि घोषित संविधान सभाको निर्वाचनलाई कसरी हेर्नु भएको छ ?
— संविधान सभाको निर्वाचन नेपालको राजनीतिक निकासका लागि मात्र नभई नयाँ जनादेशको लागि र सबैको अधिकार सुनिश्चित गरिएको संविधान लेख्नका लागि पनि अपरिहार्य त हो तर सरकार र चार दलीय रवैयाको कारण यो चुनाव धरापमा पर्ने सम्भावनालाई नकार्न सकिदैन । तर पनि संविधान सभाको निर्वाचनलाई सदुपयोग गरिनेछ ।
हाम्रो पार्टीले संविधान सभाको निर्वाचनको सुनिश्चित्ताको लागि मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीशको पदबाट अविलम्ब राजीनामा दिनु पर्दछ भनेको छ । वर्तमान राजनीतिक परिस्थिति यथावत रहने हो भने संविधान सभाको निर्वाचन असम्भव छ ।

कति जिल्ला भ्रमण गर्नु भयो ?
— पार्टीमा जिम्मेवारी लिएपछि १० जिल्ला भ्रमण गर्न भ्याएको छु । म उत्साहित छु ।

अरु केही भन्नु हुन्छ ?
— हजुर । संविधान सभा निर्वाचनलाई सुनिश्चित, पारदर्शी र विश्वसनीय बनाउनका लागि समसामयिक मुद्दाहरु जनसमक्ष लैजान पार्टी आन्दोलन मै रहेको छ । यसलाई अरु प्रभावकारी रुपमा अगाडि लैजान मलाई पार्टीले संयोजनको जिम्मेवारी दिएको छ । यसमा सबैको सुझाव र सहयोगको अपेक्षा गरेको छु । विशेष गरी यस समितिमा जिम्मेवारी पाउनु भएका सम्पूर्ण साथीहरुले सकृय भएर लाग्न समेत अनुरोध गर्दछु ।
अर्को कुरा २०६९ जेष्ठ १४ गते सम्म संविधान सभाले प्राप्त गरेका उपलब्धीहरुको रक्षा गर्नु सबै न्यायप्रेमी नेपालीहरुको दायित्व हो । यसका लागि पार्टीले साझा राष्ट्रिय मोर्चाको अवधारणालाई समेत अगाडि सारेको छ । २०६९ जेष्ठ १४ गते सम्म नेपाली जनताहरुका लागि धेरै कुराहरु प्राप्त भएका छन् । सबैले सचेत, संगठित र एकताबद्ध भएर लडौं । राष्ट्रिय जनमुक्ति पार्टी यसका लागि राष्ट्रिय दायित्व पुरा गर्ने अभियानमा निरन्तर खटीरहेको छ ।
संघीय एक्सप्रेस सहकार्य

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %