कोरियामा ६ महिना ३ दिन !

Read Time:10 Minute, 55 Second

 अगस्तको मध्य महिना कोरियामा ८१ बर्ष पछि सबै भन्दा बदी गर्मीको तापले बाफ निकाल्यो। कोरियनहरू भन्थे ‘ग्लोबल वार्मिङको कारणले यस्तो भएको’ ।  आईतबार बिदाको दिन साथी अर्को हप्ता घर जाँदैछ । ६ महिना अघि देखी घरबाट अर्डर आएको थियो -‘कोही आउने मान्छे पाए ग्यालेक्सी एस फोर र आई फोन फाईब पठाई दे है’ । घर परिवारले पनि बिदेशमा त पैसा बोटमा फले जस्तो गर्छन ।

दिन-रात नभनी १२/ १४घण्टा काम गर्नु पर्छ । न भोक लाग्दा खान पाईन्छ । न निन्द्रा लाग्दा सुत्न नै पाईन्छ । अस्ति १० तारिख  सेलरी बुझेको हो । आज फोन किनेर साथीको जिम्मा लगाउन र घर परिवारको ईच्छा पुरा गर्न सौलतिर जाँदैछु । आफु आएको २ बर्ष पुग्न थाल्यो । ग्यालेक्सी एस टु बोकेर हिडिराछु । घरकालाई भने आई फोन फाईब र ग्यालेक्सी एस फोर चाहियो रे । मनमा यस्तै कुरा खेलाउदै ट्याक्सी चढेर बस स्टपसम्म पुगे । टिकट लिएपछि उखरमाउलो गर्मीमा बस स्टप छेउमा बस आउने प्रतिक्षामा थिए । टिकटमा लेखे अनुसार बस आउन अझै १० मिनट बाँकी थियो । छोटो पहिरहनमा ठाँट्टएका कोरिएन युवतीका चाल हेर्दै मन बहलाई रहेको थिए ।

बस आयो सबै बसमा चढ्यौं र आ-आफ्नो  सिटमा बस्यौं । मेरो सिट झ्यालपट्टि थियो । म ठचक्क बसे र एसीको चिसो हावा आफूतिर फर्काए । मेरो छेउको सिटमा अलि भद्दा किसिमको पहिरहन लगाएकि युवती बस्न आइन । ड्राईभरको सिट छेउको घडीले बिहानको १० बजेर २ गएको सङ्केत गर्दै थियो । तर मेरो छेउमा बसेको युवतीको मुहारमा बाह्र बजेको थियो । त्यति नै बेला मेरो मोबाईलको घन्टी बज्यो । गोजीबाट निकालेर रिसिभ गरे । ‘हेल्लो कहाँ आई पुगिस त ?’ ‘ मैले जवाफ दिए – बल्ल बस चढेको यार ‘ उताबाट आवाज आयो ‘ ल-ल छिटो आईज ‘ मैले ‘ओके-ओके ‘ भन्दै राखीदिए ।

छेउमा बसेको युवतीको मुहारमा केही चमक आयो । उनले मतिर फर्किदै भनिन -‘ हजुर नेपाली हो ?’ मैले ‘हजुर ‘ भने ! अनि मैले सोधे ‘ हजुर पनि नेपाली पो ‘ अनि ‘ कहाँसम्म जान लाग्नु भएको नी ?’ सुस्त स्वरमा जवाफ आयो । ‘ दोङ्देमुनसम्म ‘ ‘हजुर नी’? ‘म पनि उतै हो तर योङ्सानमा झरेर मोबाईल किनेर बल्ल दोङ्देमुन जान्छु’। यति बेलासम्म गाडी गुडेर अर्को स्टेसन आएको सूचना दिदै थियो । मेरो मुखबाट निस्कियो- ‘कति भयो कोरिया भएको?’मेरो प्रश्नको जवाफ उनले सुष्क स्वरमा फर्काईन – -‘आज ठयाक्कै ६ महिना ३ दिन भयो’।’ईपिएसबाट आउनु भएको हो?’ उनले गला अबरुद्ध पार्दै जवाफ फर्काईन – ‘होईन एफ२ भीसामा हो ‘।मैले बुझी हाले उनी कोरियन नागरिकसँग विवाह गरेर आएकी रहिछिन ।

यस्ता थुप्रै नेपाली चेलीहरूका कथा ब्यथाहरू सुनेको र देखेको थिए । ६० बर्ष भन्दा बढीका कोरियन बुढाहरूले २० देखि ३० बर्षका युवतीहरू बिभिन्न देशबाट बिवाह गरेको प्रपन्च रच्दै दासी बनाउन कोरिया भित्र्याउछन । प्राय गरीब देशबाट बिवाह गरेर आउने युवतीहरूका मुख्य उदेश्य पैसा कमाउनु भएपनि कोरियन नागरिकसँग बिवाह गरेर आए पछि नारकिय जीवन बिताउन वाध्य हुन्छन् । कतिले त आत्महत्याको बाटो समेत रोज्दछन ।

मैले झोलाबाट पानी निकाल्दै भने – ‘पानी पिउनु हुन्छ ?’ उनी केही नबोली  मतिर हात बढाउदै पानीको बोतल लिईन र घुटु-घुटु पिउन थालिन । उनको पियाई देख्दा बर्षौको प्यास मेटाए जस्तो आभाष प्रतिक हुन्थ्यो । उनको झोलामा फोनको रिङ्ग बज्यो । पुरानो मोडेलको फोन उठाउदै ‘ हेल्लो ! दाई म गाडीमा छु’। आउँदै छु दाई ‘भन्दै फोन राखिन । ‘दाईलाई भेट्न हिडनु भएको’? मैले प्रश्न तेर्साए । उनले सटिक उत्तर दिईन -‘हजुर’ म एक्छिन चुपचाप बसे । ‘गाऊकै दाई हो’। अर्को महिना घर जादै हुनुहुन्छ के ‘ । उनले मतिर फर्किदै भनिन । मैले ‘ ए हजुर’ भने । ‘ हजुरको घर कहाँ नी ‘? मैले सोधे । म्याग्दी हो – ‘ए हो र’? ‘मेरो पनि बाग्लुङ हो नी’मैले भने । ‘ ए हो र ‘ उनले उत्सुकता प्रकट गरिन ।’हजुरको शुभनाम’? मैले सोधे । ‘सिता पुन’ उनले भनिन । ‘ मैले पनि २०११ को ईपीएस परिक्षा दिएको फेल भए । डिप्लोमा पनि पददै थिए । गाँउकै एक जना दाईले कोरियनसँग बिवाह गरेर गए पनि राम्रो हुन्छ । बिवाह त कोरिया पुग्नसम्म मात्र हो । कोरिया पुगे पछि त आफ्नो-आफ्नो बाटो समाउने हो । ‘तिमीले कोरियाको पिआर पनि पाउछौ’ भन्नु भयो । घरमा सल्लाह गरे आमा, बुवाले मान्दै मान्नु भएन । ‘म आफै जबर्जस्ती आएको’यस्तो दु:ख पाउन लेखेको रैछ’ उनको आँखा रसाई रहेको थियो । उनले ब्यागबाट टिस्यू झिकेर आँसु पुछिन ।

‘आउँदा त सबै कुरा दलालले मिलाई दिन्छन रे नी है’? मैले सोधे । ‘हो’। मलाई काठमाण्डु बोलाए । सबैले दलालले सेट मिलाएका हुँदा रहेछन । म्यारिज ब्युरोका दलालहरूले अदालती बिवाह गरिदिए । आफू भन्दा तीन गुणा बढी उमेरको बुढासंगै बिवाह गर्न मनमा कस्तो-कस्तो लागेको थियो । पाँच लाख पनि दलाललाई बुझाए। बिवाह गरेको साँझ ठमेलको कोरियन रेस्टुरेन्टमा गएर कोरियन खाना खाएका थियौ’। उनले एकै सासमा भनिन ।

यति बेलासम्म गाडी हान नदीको किनारै किनार गुडीरहेको थियो । हान नदी मन्द गतिको बगीरहेको थियो तर उनको कुराले मेरो मनमा ज्वारभाटा उठीरहेको थियो । बस दोङसौल स्टेसनमा पुगी सकेको थियो । हामी झर्यौ । उनको दाईले पर्खी रहनु भएको रहेछ । हामीसंगै ट्रेन स्टेसनतिर लाग्यौं । केही छिनको पर्खाई पछि  ट्रेन भित्र छिर्यौं । कोरिया सानो देश जनसंख्या बढी भएको देश गर्मी महिनामा कोरियन युवतीको पहिरहन हेर्न लायक हुन्छ ।

ट्रेन यात्राकै क्रममा भेटिए झापाका मिलन राई । उनी एग्रिकल्चरमा आएका रहेछन । ‘कस्तो छ त कामदाम’? मैले सोधे । उनले अँध्यारो अनुहार बनाउदै भने ‘ खत्तम छ नी हौ । महिनामा एक दिन मात्र छुट्टी हुन्छ। बिहान उज्यालो हुँदा देखि बेलुकी अध्यारो नहुदासम्म काम गर्नु पर्छ । आफै खाना पकाएर खानु पर्ने गर्मीमा फिनिल हाउसभित्र काम गर्न र जाडोमा हिउ पर्दा काम गर्न कम्ता गार्हो हुदैन नी हौ । म त अब भागेर काम गर्ने सोचाईमा पो  छु त हौ’।

अर्को स्टेसनमा भेटिए कास्कीका रुद्र शर्मा । स्नातक तह पुरा गरेका रुद्रले सुनाए -‘नेपालमा डिग्रीको सर्टिफिकेटले जागिर नपाईदो रहेछ्’। जहाँ पनि सोर्स-फोर्स ,नातावाद , कृपावाद चल्छ । आफ्नो चिनेजानेको कोई छैन । कोरिया आईयो। ग्रेन्डिङ हानिन्छ, दे-नाईट । डिग्रीको के काम’? उनको अनुहारमा कालो बादल छायो । मेरो झर्ने स्टेसन आई पुगि सकेको थियो । सबै जनालाई ‘बाई-बाई ! फेरी भेटौँला’ भन्दै झरे । रुद्रको कुराले मेरो मन चिसो बनाई रह्यो । मनमा कुरा खेली रह्यो । नेपालको शिक्षा नै ब्यवहारिक छैन । राजा महाराजाको ईतिहास पढेर के काम ? कृषि प्रधान देश रे खेती कसरी गर्ने भनेर पो सिकाउनु पर्छ । नेपालको शिक्षा प्रणालीको कामै छैन । गाँउ घरका खेत-बारी बाझैं छ । सबै युवा बिदेश भासिदैछन ! यतिन्जेल मोबाईल पसलमा पुगी सकेको हुन्छु । मोबाईल किनेर साथीको हातमा थमाएर कम्पनी फर्किन्छु । फेरी भोलि देखि जोतिनु थियो । खोई हामी नेपाली अझै कहिलेसम्म अर्काको पराई भुमीमा यसरी जोतिनु पर्ने हो ? सोंच्दा सोंच्दा  मगज चरक्क चर्कन्छ ।   छापाहरुमा  नजर दौडाईरहेकोछु । एउटा खबरमा नज़र टक्क अडिन्छ । ‘कोरियन नागरिकसँग बिवाह गरेर आएकी नेपाली चेलीले आत्महत्या गरिन । ‘ उही तस्बिर उही नाम …… दुई दिन अघिको भेट चलचित्र झैं आँखा अगाडी नाच्न थाल्छ । मेरो कानमा उही आवाज गुन्झियो – ‘ कोरिया आएको आज ठयाक्कै ६ महिना ३ दिन भयो ।’

निश्चल काउचा, दक्षिण कोरिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %