वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचनको उम्मेद्वारी दर्तालाई लक्षित गरी बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बुधबार बसेको ३३ दलीय मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेको हो ।
घोषित कार्यक्रमअनुसार भदौ १३ गते राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, भदौ दोस्रो साता नागरिक समाज, बुद्धिजीवी लगायतसंग अन्तरक्रिया गर्ने र सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा ३३ दलीय मोर्चा विस्तार गर्ने रहेको छ । यस्तै ३३ दलले भदौ २७ गतेबाट असोज १ गतेसम्म क्षेत्र स्तरमा बन्द गर्ने घोषणा गरेका छन् ।
२७ गते पूर्व, २८ गते सुदूरपश्चिम, ३० गते पूर्वी तराई, ३१ गते मध्यपश्चिम र १ गते मध्य पहाड बन्द आह्वान गरिएको छ । २ गतेदेखि ७ गतेसम्म मुख्य शहरहरूमा बहिस्कार सभा गरिने कार्यक्रम रहेको छ । जसअनुसार २ गते जनकपुर र बुटबल, ३ गते चितवन र इटहरी, ४ गते विराटनगर र धनगढी र ७ गते काठमाडौं र पोखरामा बहिस्कार सभा हुनेछ । ३३ दलले उम्मेद्वारी दर्तालाई लक्षित गरी असोज ९ र १० गते नेपाल बन्द घोषणा गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार असोज १० गते प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ताको कार्यक्रम छ ।
आनन्द गुरुङ
