चुनावमा कांग्रेससंग टक्कर हुने माओवादी रिपोर्टिंग

Read Time:3 Minute, 9 Second

एकीकृत माओवादी केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्ने सदस्यहरूले कपिलवस्तुदेखि सप्तरीसम्मको क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने बताएका छन् ।केन्द्रीय समितिको जारी बैठकमा बोल्ने नेताहरूले कपिलवस्तुदेखि सप्तरीसम्मको हिमाली, पहाडी र तराईको क्षेत्रमा आफ्नो पार्टी, नेपाली काँग्रेस र मधेसी दलहरूबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने रिपोर्टिङ गरेका हुन् ।

जनसम्बन्ध सुदृढीकरण अभियानको रिपोर्टिङ गर्ने सदस्यहरूले कपिलवस्तु, रूपन्देही र पर्साका केही निर्वाचन क्षेत्रमा भने पार्टीले धेरै मेहनत गर्नुपर्ने बताएका छन् । बैठकमा बोल्ने सदस्यहरूले अन्य जिल्लामा काँग्रेस र मधेसवादी दलसंग प्रतिस्पर्धा भए पनि रूपन्देहीमा भने एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने बताएकाथिए   । पर्सामा पहिलेकाे भन्दा संगठन बलियो भएपनि पार्टीले परिणाम आफ्नो पक्षमा पार्न धेरै कसरत गर्नुपर्ने रिपोर्टिङ प्रस्तुत भएको केन्द्रीय सदस्य रंगनाथ ढकालले बताए ।

रिपोर्टिङमा मधेसका निर्वाचन क्षेत्रहरूमा विगतको तुलनामा पार्टीको संगठन विस्तारमा उल्लेखनीय प्रगति भएको समेत दावी गरिएको थियो । एक महिने अभियानको नेतृत्व गरेका केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्ने क्रम जारी छ । हिजोको बैठकमा अवध, भोजपुरा, मिथिला र ताम्सालिङ राज्यका ६० भन्दा बढी क्षेत्रको रिपोर्टिङ भएको छ । बैठकको दोस्रो दिनसम्ममा एक सयभन्दा बढी निर्वाचन क्षेत्रका सदस्यहरूले रिपोर्टिङ गरिसकेका छन् । हिजोको बैठकमा भेरी–कर्णाली, सेती–महाकाली, थारुवान, मगरात र तमुवान राज्यसमितिका ८२ निर्वाचन क्षेत्रका नेताहरूले अभियानबारे रिपोर्टिङ गरेका थिए ।

अधिकांश रिपोर्टकर्ताले संविधानसभा निर्वाचनमा आफ्नो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससंग हुने निष्कर्ष दिएका थिए । बैठकले जनसम्बन्ध अभियानको समीक्षा गरी चुनावी रणनीति तय गर्नेछ । यस्तै, बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, चुनावी घोषणापत्र र उम्मेद्वार छनौटलगायतका विषयमा समेत निर्णय लिने माओवादीले जनाएको छ । बैठक आज पनि बस्नेछ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %