युद्धमा हामी त खरानी भयौं तर अब अरु नजलुन : खडकबहादुर ठकुरी (पुर्व माओवादी लडाकु)

Read Time:11 Minute, 21 Second

मेरो नाम खडकबहादुर सिँह ठकुरी हो । अहिले ६० वर्षको भए । लिवाङ गाविस–३ रेउघा रोल्पा हो मेरो घर । म भारतिय सेना र माओवादी जनमुक्ति सेनामा गरी दुईवटा सेनामा काम गरे । भारतिय सेनाबाट रिटायर्ड भएपछि माओवादी जनमुक्ति सेनामा भर्ती भएको हुँ । २४ वर्षसम्म भारतिय सेनामा काम गरे । २०४८ सालमा भारतिय सेनाको हवल्दारबाट रिटायर्ड भएर २०४९ सालबाट राष्ट्रिय जनमोर्चाको राजनिति शुरु गरेको हुँ ।

लगत्तै भएको स्थानिय निकायको चुनावबाट लिवाङ गाविसको उपाध्यक्षमा निर्वाचित समेत भए । त्यतिबेला काँगे्रसको दबदबा थियो । गाविस उपाध्यक्षमा निर्वाचित भएपछि मलाई थुर्पै झुठा सार्वजनिक मुद्दाहरु लागे । प्रसाशनले धेरै दुःख दियो । कुनै घटनामा सँलग्न नभैकन पनि प्रशासनले झुठा मुद्दा लगाएपछि धेरै दुःख पाए । २०५२ सालमा नेकपा माओवादीले औपचारिक रुपमा जनयुद्धको सुरुवात गरेपछि झनै प्रशासनले घरमा बस्नखान नदिएपछि फुलटाईम माओवादी भुमिगत युद्धमा होमिए ।


मेरो ज्यान त बच्यो । तर घरमा भएका मेरा श्रीमति छोराछोरीले झनै दुःख पाए । मेरा श्रीमतिहरु दुईवटी हुँन् । निकै दुःख भएपछि कान्छि पनि युद्धमा लागीन्, कान्छीतिरको सानो काखे छोरा थियो, छोरापनि आमासँगै गयो । घरमा जेठी श्रीमति र  अन्य ३ छोरा र ५ छोरी बसे । घरमा दिनदिनै सेना पुलिसहरु खोज्न आउँदा रहेछन् । जेठि श्रीमतिले खै कान्छी लगेर गाको छ केर काँ गाको छ मलाई थाहा छैन भनेर ज्यान बचाईन । जेठि श्रीमतितिरका ३ छोराहरु अलि ठुला पनि भैसकेकाले आर्मी पुलिसले निकै दुःख दिने, पिट्ने कुट्ने, तेरो बाउ खै भनेर दुःख दिने गरेपछि उनिहरुले पढ्न पनि पाएनन् ।

भूमिगत भएपछि २०५८ सालसम्म पार्टी सँगठनमा काम गरे । २०५८ सालबाट मात्र जनमुक्ति सेनामा काम शुरु गरेको हुँ । त्यतिबेला म ४८ वर्षको थिए । म भारतिय सेनाको हवल्दारबाट रिटायर्ड भएको मान्छे । त्यसैले जनमुक्ति सेनामा सैन्य कामको अनुभवीहरुको आवश्यकता भएकोेले त्यहि सेवा दिए । स्वैच्छिक अवकास लिँदा जनमुक्ति सेनाको कम्पनी कमाण्डर थिए । अवकास लिँदा सरकारले दिएको पैसाले अहिले सानो दोकान गरेको छु । के गर्नु र बुढो मान्छेले । छोराछोरी पाल्नु प¥यो । अरु केही गर्न सकिदैन, म त फेरी ६० वर्ष भैसके । त्यसैले यो स्यानो दोकान शुरु गरेको छु । यो दोकान पनि भर्खर शुरु गरेको हुँ । ३÷४ महिना मात्र भएको छ । हेरौं के हूँन्छ ?’ अरु त ठुला भैसके । तिनवटा छोराछोरी साना छन् । उनिहरुलाई पढाउनुपर्यो ।

तर, खै त्यत्रो वर्ष युद्ध गरियो अहिले हाम्रो अवस्था यस्तो छ ।  शान्ति बार्ता भैसकेपछि अहिले आएर हामी माओवादी सेनाहरुले दुःख पाईरहेका छौ ।     अहिले हेर्नुस त….सेनाहरु निस्किसकेपछि यस्तो दुःख पाईरहेका छन् । घर न बासका भएका छन् । मेरै कुरा गर्नुस न, यो ६० वर्षको बड्डो (बुढो) मान्छेले दोकान (पसल) थाप्नुपरेको छ । सेना छाड्दा राज्यले दिएको ६ लाख रुपैयाँ पनि खाईसक्न थालिसके । अरु आउने बाटो छैन । त्यही झिक्दै खाँदै गरेपछि त सक्किहाल्छ नी । काम गर्न पनि कहाँ जाने ? बन्दुक चलाउन बाहेक अरु काम जानेको छैन । लडाईको दौरानमा निकै दुःख कष्ट भोग्यौं, अहिले शान्तिबार्ता भएपछि क्याम्पबाट निस्किसकेपछि त जनमुक्ति सेनाका सदस्यहरु, कमाण्डरहरु ले झन दुःख पाईरहेका छन् । तपाईले पनि देख्नुभएको होला, यहाँ घोराही बजारमा कसैले त राम्रैगरी गरेर खाएका पनि छन् । कति यत्तिकै हल्लिरहेका छन् । तर, धेरै जनाले दुःख पाईरहेका छन् । सरकारले दिएको अलिअलि रकम पनि खाईसकेकोले घर न बासका भा का छन । यो बिजोग कसले हेर्ने हो ? राज्यले पनि हेर्दैन, पार्टीले पनि नहेर्ने भैगो समस्या छ ।

जनमुक्ति सेनाको समायोजन हुँदा समायोजन मै जाने मन थ्यो । तर मेरो उमेर र अर्को शैक्षिक योग्यताको मापदण्डले छेक्यो । अनमिनले प्रमाणिकरण गर्दा भारतिय सेना र जनमुक्ति सेनामा गरी ३८ वर्ष सेनामा काम गरेको रेकर्ड बनाएको थिए । पहिले पनि ईण्डियाको सेनाबाट पेन्सन पकाको मान्छे  । त्यसपछि माओवादी सेनामा काम गरेको र फेरी नेपाली सेनामा काम गरेर नयाँ रेकर्ड पनि रहन्थ्यो । समायोजनमा गएर छ महिना भएपनि नेपाली सेनामा काम गर्ने मन त थियो नी । तर, यि माथिका नेताहरुले गाँजेमाजे गरे । अनि अन्तमा ६ लाख रुपैयाँ बुझेर घरतिर लागे ।

युद्धको बेलामा त दुःख हुन्थ्यो नी नानी । लडाई त भैगो । २०६१ सालमा मा रोल्पा गैरीगाउँ गाविस दुम्लामा भएको भिडन्तका दिन श्रीमतिलाई सुत्केरी ब्यथा लागेको थियो । भिडन्त चलिरहेकोले सुत्केरी बेथा लागेकी श्रीमतिलाई साथ दिन नसकेर भागे । त्यसै दिन कान्छी छोरी जन्मेको हो । सँकटकालको बेला, भुमिगत भएपनि पेन्सन लिन आउथे । दाङबाटै पेन्सन लिने गरेको थिए  । दाङमा यो त माओवादी हो भनेर उजुरी परेपछि पेन्सन काठमाण्डौं सारे । त्यहाँ पनि रिपोर्ट पुगेछ भारतिय दुताबासमा, मलाई त त्यही पकड्न लागे, पछि त्यहाँबाट बल्लतल्ल फुत्किएर पछि मैले ईण्डियामा सारे । भारतबाटै सधै पेन्सन बुझ्थे । अहिले भने दाङमै नाम सारेको छु । 

रोल्पामा पटक–पटक सार्वजनिक मुद्दा खेपे माओवादीको नाममा । गल्ती भाका भए त ठिकै थियो । गल्ती नै नगरेका थुर्पै मुद्दाहरु लागे  ।  मृत्युको कफ्फन ओढेर अछाम लडाई, दुम्ला भिडन्त, हान्निङको भिडन्त लगायतका थुर्पै भिडन्तमा लड्यौं । मलाई भने, केही भएन ।  थुर्पै साथिहरु शहिद भए  । तर ऐले ति साथिहरुले दिएको बलिदान पुरा हुने छाँटकाँट छैन ।

युद्धकालमा मलाई राम्रै भएपनि छोराछोरीले भने निकै दुःख पाए । श्रीमति पनि युद्धमै थिईन् । तर हाम्रो भेट कहिलेकाँही मात्र हुन्थ्यो । उनिहरु अन्तै हुन्थे । हामी अन्तै हुन्थ्यौं । बच्चाहरु एकातिर, आमा, बाउ एकातिर भयौं । बच्चाहरुलाई सेनाले चाहरेर हैरान बनाए । बच्चाहरुलाई गजुल दोलङ्गाको हाईस्कुलमा होस्टेलमा राखेको थिए । त्यहाँ पनि सेना पुगेर कम्मल, सिरड डसना, भाँडाकुँडा, चामल किनेर फालिदियो । बच्चाहरुलाई चाह¥यो । त्यसपछि त्यहाँबाट फगामको दुलगँगा स्कुलमा सारे । त्यहाँ पनि बच्चाहरुलाई बस्न दिएनन् सेनाहरुले ।

तर शान्ति प्रक्रिया भैसकेपछि त मान्छेहरुबिचमा पैसा कमाउने प्रतिस्पर्धा चलेको छ । सबै पैसाको पछाडी दौडेकाछन् । प्रतिस्पर्धा छ ऐले पैसा कमाउन, बिग्रियो नी ज्यान त । मान्छे बिग्रियो । मान्छेले महल खडा गरे । म जस्ताले सानो घर पनि हाल्न सकेका छैनन । घर के भन्ने सानो टुक्रा जग्गा किन्न सकेको छैन । शान्ति प्रक्रियापछि कोहीले ठेक्कापट्टा गरेका छन्, कोहीले दोकान गरेका छन्, कोहीले गाडी किनेका छन्, कोहीले सहकारी खोलेका छन्, कोहीले खेतिकिसानी गरेका छन्, कसैले माछा उत्पादन गरेका छन्, कसैले गाई पालेका छन्, स–साना साबुन उद्योग, चाउमिन उद्योग, च्याउ खेति गरेका छन् ।

मैले पनि पेट पाल्न स्टेशनरी पसल चलाईरहेकोछु । सँगै अलिअलि भा‘नी राजनीति पनि गर्छु (हाँस्दै..) । ऐले चुनाव पनि नजिक आईरा‘को छ । यो चुनावले केही गर्छ की हेरौं ! पैले जस्तै भो भने त फेरी जनता त पर्ने हुँन् समस्यामा । युद्धमा क्षति पनि हुँन्छ । उपलब्धी पनि हुन्छ भनि लडिएकोथियो । युद्धकै कारण ऐले नेपालमा धेरै परिवर्तन पनि भएको छ । जनयुद्धमा लागेर हामीले दुःख पाएकै कारण राजतन्त्रको अन्त भयो, गणतन्त्र आयो, मान्छेहरुले आफ्नो कुरा सहजै राख्न सक्ने बातावरणको सिर्जना भयो धेरै उपलब्धी भएको छ नी । म त अब बुढो पनि भईयो, अरु केही ईच्क्षा छैन, चुनाब होस् नयाँ संबिधान लेखियोस् यही चाहना छ । सबैले बोल्ने अधिकार होस् । नेपालमा दिगो शान्ति आवोस् ।     यो संबिधानसभाको निर्वाचनले जनताको माग पुरा गर्नुपर्छ, चुनाव हुनुपर्छ भन्ने त हो । खै फेरी पैलेजस्तै भो भने त !  ऐले एकिकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्यको रुपमा काम गरिरा‘छु । आशा गरौं यो संबिधानसभाको चुनावले संबिधान दिनेछ ।

प्रस्तोता : देविका घर्ती मगर,दाङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %