नेकपा एमालेले चुनाव आईरहेकोले विवाद गर्न नहुने भन्दै आन्तरिक विवाद स्थगन राखि भदौ मसान्तभित्रै उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । एमाले मुख्यालय बल्खुमा बिहिबार अचनाक बसेको स्थायी कमिटी बैठकले भदौ मसान्तभित्रै प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेद्वारको टुंगो लगाउने निर्णय गरेकोछ ।
युवा संघ अध्यक्ष महेश बस्नेत पक्षले पार्टी अध्यक्ष झलनाथ खनालको निर्देशनविपरीत संघको केन्द्रीय कमिटी बैठक राख्नुका साथै महिला युथफोर्स गठन गरेपछि एमालेमा विवाद चुलिएको थियो ।
बैठकको निर्णयबारे जानकारी दिंदै उपाध्यक्ष बामदेव गौतमले भदौ २५ गतेभित्र सबै क्षेत्र र जिल्ला कमिटीलाई सम्भावित उम्मेद्वारको सूची पठाउन निर्देशन दिने निर्णय भएको बताए । उनले २६ गते बस्ने केन्द्रीय कमिटी बैठकले सम्भावित उम्मेद्वारको नाम छाँटकाँट गर्ने र त्यसपछि बस्ने स्थायी कमिटीले अन्तिम निर्णय लिने जानकारी पनि दिए ।
यसैगरी एमालेले घोषणा मस्यौदा समिति भदौ १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले चयन गर्ने भएको छ ।
-आनन्द गुरुङ
चुनावले एमालेको विवाद स्थगन
Read Time:1 Minute, 38 Second
