हिन्दूहरूको पवित्र धार्मिक पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व आज नयाँ यज्ञोपवित धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाईयो । हिजैदेखि चोखोनितो गरी एक छाक खाएका तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा गई गाईको गोबर,माटो, कुश, तुलसी तथा गाइको गहुँत लगाई नुहाउनुका साथै सप्तर्र्षीको सम्झना गरेका छन् । हिन्दु धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । आजको दिन नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा लिइन्छ । यो दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने चलन छ । सत्ययुगमा दानवबाट लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । तथास्वाध्याय, अतिथि सत्कार, पितृ तर्पण्ँ, भूतबली र होमजस्ता पञ्च महायज्ञको कर्मलाई स्मरण्ँ गराउने दिनका रूपमा पनि तागाधारीहरू यो पर्व मनाउने गर्छन् ।
आज जनै तथा राखी बाध्नाले देव ऋण, ऋषि ऋण र पितृ ऋणबाट मुक्त भइने धामिर्क विश्वास रहिआएको छ । विधिपूर्वक तयार गरिएको जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको पाइन्छ । दानवी शक्तिबाट सुरक्षित हुनका लागि पनि आज रक्षा बन्धन बाँध्ने गरिन्छ । जनैपूर्णिमाका दिन बाँधिएको रक्षाबन्धन गाईतिहारका दिन गाइको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी नदी पार हुने जनविश्वास छ ।
परम्परानुसार आजका दिन नौ थरी गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार पारिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवार समुदायमा आजको दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा गाडिदिएकाले आजको दिन नेवार समुदायले भ्यागुताको पूजा गर्ने गर्दछन् ।
जनैपूर्णीमाको अवसरमा रोल्पाको प्रशिद्ध धार्मिक स्थल जलजलामा भदौरे पूर्णिमाका लागि तिर्थालुहरूको घुईचो लागेको छ । पूर्णिमाको अवसरमा बली दिने भक्तजनको भीड बढ्न थालेको हो । मनोकामना पुरा हुने आशाका साथ वर्षैपिच्छे भेडाको बली दिन दाङ, प्यूठान, सल्यान, बागलुङ लगायत नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् । कतिले वर्षमा एकपल्ट त कतिले केहि वर्षको अन्तरालमा बली दिने चलन रहेको बताइएको छ । बली नदिए अनिष्ट हुने धार्मिक विश्वास भएकाले यहाँ वर्षमा तीन पटकसम्म बली दिने प्रचलन छ । ऋषितर्पणीका अवसरमा काठमाडौंको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, रसुवाको गोसाईकुण्ड, जनकपुरको गंगासागर तथा धनुषसागर, जुम्लाको त्रिवेणी लगायतका स्थानमा भक्तजनहरूको घुईचो लागेको छ । यस्तै आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी र नगरकोटलगायत पर्वतीय शिखरहरूमा समेत विशेष मेला लाग्ने गर्दछ ।
आनन्द गुरुङ
