एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले गत संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीको पूर्ण बहुमत नभएका कारण संविधान नबनेको बताएका छन् । सुनसरीको १ नं क्षेत्र स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले आगामि निर्वाचनमा जनताले कुनै एउटा पार्टीलाई पूर्ण बहुमत दिए मात्रै संविधान निर्माण हुने बताए । आफ्नो पार्टीले यस पटक पूर्ण बहुमत प्राप्त गर्ने एजेण्डा लिएर चुनावमा होमिएको उनको भनाई थियो ।
संविधानसभा निर्वाचनमा असन्तुष्ट समूहहरु धमाधम सहमतिमा आउदै गएको जानकारी दिंदै नेता अनन्तले माओवादी वैद्य समूहले चुनावमा आउने ग्यारेण्टी गरे निर्वाचनको मिति सार्न सकिने बताए ।
एकीकृत नेकपा माओवादीले पूर्ण आर्थिक अधिकार सहितको मानवअधिकार, गास, वास, कपास, शिक्षा र रोजगारीलाई मौलिक अधिकारको रुपमा स्थापित गर्न सफल भएको पुनको भनाइ छ । प्रशिक्षणमा एमाओवादीका केन्द्रीय सदस्य शक्ति बस्नेत, केन्द्रय सदस्य तथा सुनसरी १ का अभियान संयोजक कमला रोक्का लगायत नेता शिवकुमार डागी लगायतको सहभागीता थियो । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा , ड्यास माओवादी, संघिय समाजवादी, लिम्बुवान सम्बद्ध युवाहरु रहेका छन् । पार्टी परित्याग गरी १ सय ३५ जना पार्टी प्रवेश गरेका थिए ।
भैरब आङ्ला, धरान
