सरकारी विद्यालयहरुमा विभिन्न जातिहरुको मातृभाषाको पठन पाठनमा तिब्रता भएको बेला यतिखेर जिल्लाका विद्यालयहरुमा मगर भाषाको पठनपाठनमा पनि शुरु भईरहेको छ । जनसंख्याको आधारमा नेपालकै तेश्रो र जनजातिमा पहिलो स्थान ओगट्ने मगर जातिको भाषाको पाठयक्रम तयार भईसकेको भएपनि विद्यालयहरुमा पठनपाठन शुरु भने २०६० सालबाट भएको हो ।

भाषा नबोल्ने जिल्लाको गाउँ—गाउँमा मगर भाषाको अनौपचारिक शिक्षा अगाडि बढिरहेको थियो । अहिले आएर १ देखि ७ कक्षासम्मको बाह् मगरात मगर भाषाको पाठ्यक्रम प्रकाशन भईसकेपछि भाषा बोल्ने/नबोल्ने जिल्ला र गाउँको विद्यालयहरुमा आफ्नो मातृभाषाको पठन पाठन शुरु भएकोछ । गोरखा जिल्लाको बक्राङ गाविस पिपलछाप ३ स्थित श्री थानी निम्न माध्यमिक विद्यालमा पनि मगर विद्यार्थीको घनत्वलाई मध्यनजर राख्दै यो वर्षबाट मगर भाषाको पठन पाठन शुरु गरिएकोछ । हुन् त गोरखाको बुंकोट गाविसमा रहेको श्री लखन थापा प्रा.वि.मा मगरभाषाको पठन पाठन पहिलेदेखि नै शुरु भइसकेको थियो । 
६ रोपनी जग्गामा फैलिएको यस श्री थानी नि.मा.वि. मा ४ वटा भवन, १ मन्दिर, १ धारा, १ शौचालय रहेको छ । ५ वटा ल्यापटप, ३ वटा डेस्कटप कम्प्युर सहित यस विद्यालयमा ७ जना शिक्षक, २ जना शिक्षिका र १ जना स्वयमसेवक छन् । ती मध्य १ जना बाहुन जाति र बाँकी सबै मगर जातिका शिक्षकहरु हुन् । २ जना निजि श्रोतबाट र बाँकी ७ जना स्थायी दरबन्दीमा कार्यरत छन् । ५५ जना छात्र र ८६ जना छात्रा गरि जम्मा १४१ विद्यार्थीहरुको संख्याले यस विद्यालयमा अध्ययनरत गरिरहेका छन् । यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा बाहुन जाति १, परियार १, नेवार जाति १, नेपाली १ छन् भने बाँकी सबै मगर जातिका छन् ।
प्रधानाध्यापक हेमबहादुर थापा मगरको सक्रियतामा मगर भाषाको पठन पाठनको लागि जिल्ला शिक्षा कार्यालयबाट पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरमा माग गरेर १ कक्षा २० थान, २ कक्षाको २३ थान, ३ कक्षाको २१ थान, ४ कक्षाको २५ थान, ५ कक्षाको २५ थान प्राप्त गरेर अध्ययन शुरु गरिएको हो ।

२०४३ सालमा स्थापना यो नि.मा.वि. बक्राङ ३ पिपल छापमा छ जहाँ ९४ प्रतिशत मगर जातिको बस्ती रहेको छ । मगर भाषामा पठनपाठन गर्न भने त्यति सजिलो छैन । यसर्थ छिमेकी गाउँका शिक्षकहरुलाई समेट्ने गरि यस विद्यायलमा दुई हप्ते भाषा लिपीको विशेष तालिम चाँडै राख्ने कुरा प्राध्यापक हेमबहादुर थापा मगर बताउँछन ।
यसरी विद्यालयमा अध्यापनको लागि सम्बन्धित जिल्ला कार्यालयलाई मगर विद्यार्थीको संख्या दिएर पाठयक्रम झिकाएर आफ्नो मातृभाषामा पठन पाठन अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण यो बिद्यालयले सिकाएकोछ ।

मातृभाषा शिक्षा लागु भएपछि ११ वटा जिल्लाको विद्यालयहरुमा मगर भाषाको पठन पाठन शुरु भईसकेको थियो तर यो बर्ष कति थपियो तथ्याँक आईसकेकोछैन ।
मेजन पुनबाट
