अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्थमन्त्रीको प्रतिनिधि भएर काम गर्न कर अधिकृतहरुलाई सुझाव दिएकाछन । आन्तरिक राजश्व विभागले देशभरिका प्रमुख कर अधिकृत र कर अधिकृतका लागि गरेको तीनदिने कार्यशाला समापन गर्दै मन्त्री कोइरालाले धेरैको आँखा लाग्ने क्षेत्र भएकाले संस्थागत र व्यक्तिगत छवि सुधारेर काम गर्न सुझाव दिए । कोइरालाले भने– ‘मन्त्रीले सचिव, सचिवले महानिर्देशक, महानिर्देशकले तपाईंहरु माथि गाली गर्ने अवस्था आउन नदिनुस् । अब त्यस्तो अवस्था आए त्यसले तपाईंहरुकै कार्य सम्पादन र मूल्यांकनमा असर पर्छ ।’
अर्थ सचिव शान्तराज सुवेदीले कर प्रशासनमा केही वर्ष यता शक्तिको छत्रछायाँ रहेर काम गर्ने प्रवृत्ति देखिएको प्रति तीब्र असन्तुष्टि व्यक्त गर्दै क्षणिक लाभको बाटो नदेख्न सुझाव दिए । उनले महानिर्देशकको स्वीकृति नलिई विदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिए ।
अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखा प्रमुख राजन खनालले कर तिर्नु भनेको जनताले राज्यलाई गरेको योगदान भएकाले त्यसको पुष्टि गर्नु कर अधिकृतहरुको दायित्व भएको बताए । उनले देशमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन प्रयास थाल्न सहभागीहरुलाई सल्लाह दिए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले परिश्रम र सावधानी सवैभन्दा ठूलो योग्यता भएकोले यसलाई आत्मसात गर्न सुझाव दिए । ५३ बुँदा र १६ दफासहितको गोकर्ण घोषणापत्र सार्वजनिक गर्दै कार्यशाला सकिएको छ । कार्यशालामा देशभरका २ सय कर अधिकृत सहभागी थिए । सो अवसरमा अघिल्लो वर्ष सवैभन्दा बढी कर उठाउने तीनवटा शाखाहरुलाई पुरष्कृत गरिएको थियो ।
आनन्द गुरुङ
कर अधिकृतहरुलाई ‘भ्रष्ट’ नहुन निर्देशन
Read Time:2 Minute, 34 Second
