उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियामा असन्तुष्ट दलहरुलाई तत्काल सहमतिमा आउन आग्रह गरेको छ ।
नया बानेश्वरस्थित आफ्नै कार्यालयमा बिहान बसेको समिति बैठकले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुन सक्ने भएकाले तत्काल सहमतिमा नआए असन्तुष्ट पक्षलाई लामो समयसम्म पर्खन नसक्ने निष्कर्ष निकालेको हो । बैठकमा निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम, नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले अघि सारेका सर्तबारे छलफल भएको थियो ।
बैठकले असन्तुष्ट पक्षका मागबारे साउन महिनाभित्र निर्णायक वार्ता गर्ने निर्णय गरेको एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । नेका वरिष्ठ नेता शेरबहादुर देउवाले फोरम र संघीय समाजवादीसंग भोलि र वैद्य माओवादीसंग बुधबार निर्णायक वार्ता गर्ने निर्णय भएको जानकारी दिए । बैठकले असन्तुष्ट दलका सरकार परिवर्तन र निर्वाचन स्थागनबाहेकका मागमा लचकता अपनाउन तयार रहेको पुनः स्पष्ट गरेको छ ।
असन्तुष्ट दलले सरकार गठनअघि भएको ११ बुँदे सहमति, २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश, सरकार र उच्चस्तरीय राजनीतिक समितिको खारेजी, निर्वाचन प्रक्रिया स्थगन, संविधानभामा समानुपातिक प्रतिनिधित्व वृद्धिलगायतका सर्त राखेका छन् । बैठकमा कागं्रेस सभापति सुशील कोइरालाले भारत र एमाले अध्यक्ष झलनाथ खनालले अमेरिका भ्रमणबारे बैठकलाई जानकारी गराएकाथिए ।
आनन्द गुरुङ
