साफ च्यापियनसिप फुटबलको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेल खेल्न बहराइन प्रस्थान गरेको छ । डेढ महिनादेखि काठमाडौमा अभ्यास गरिरहेको नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २५ खेलाडीमध्ये २३ खेलाडी र ४ अफिसियल त्यसतर्फ प्रस्थान गरेका छन् ।
इन्डोनेसियन लिग खेलिरहेका रोहित चन्द र आर्मीको सहसेनानी तालिम लिइरहेका भरत खवास भने बहराइन गएका छैनन् । ११ दिने बहराइन बसाइको क्रममा नेपाली टिमले बहराइनको २३ वर्ष मुनिको राष्ट्रिय टिमसँग अभ्यास खेल खेल्नेछ । बहराइनमा अर्को अभ्यास खेल खेल्ने भनिएपनि अहिले सम्म टुङ्गो लागेको छैन । त्यसपछि नेपाली टिम साउन ३० गते अभ्यासको लागि कुवेत सिटी प्रस्थान गर्नेछ ।
कुवेतमा पनि ११ दिनको अभ्यासपछि नेपाली टिम भदौ ११ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । भदौ १६ देखि काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसीप फुटबलमा नेपाल सम्मिलित समूह ‘ए’ मा छ पटकको च्याम्पियन भारत, बंगलादेश र पाकिस्तान छन् । भ्रमणको लागि एन्फाले १६ वर्ष मुनिको राष्ट्रिय टिमका दुई खेलाडीसहित २५ सदस्यीय राष्ट्रिय टिम शनिबार घोषणा गरेको थियो ।
आनन्द गुरुङ
