पोखरामा पहिलो पटक भएको मिसेस पोखराको उपाधि सविता पाण्डेले जितेकी छिन् । मिसेस क्याटवाकको सबटाइटलसहित २० जना प्रतिस्पर्धीलाई पछि पार्दै पाण्डेले उपाधि जितिन् । उनले दुईतोला चाँदीको ताजसहित १५ हजार रुपैंया र विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाइन् ।
कास्की हेम्जाकी २४ वर्षिय सविताको माईत चितवन हो । उनले विवाहपूर्व ग्यालेक्सी चितवनले आयोजना गरेको मिस्टर एण्ड मिस कलेज २००५ मा टप फाइभमै चित्त बुझाएपनि विवाहपछि उपाधि जित्ने धोको पूरा भएको सुनाइन् । करिब पाँच घण्टा चलेको कार्यक्रममा विभिन्न सागीतिक तथा साँस्कृतिक प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए ।
प्रतियोगितामा पूर्वमिस नेपाल निलिमा गुरुङ, वेभ म्यागेजिनका निर्देशक अनुप प्रकाश, ग्लामर नेपाल डटकमका कार्यकारी निर्देशक कमल श्रेष्ठ, लिटिल स्टेप उच्च माविका प्रिन्सिपल पम्फा गुरुङ र रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी निर्णायक थिए । कार्यक्रम आयोजक इभेन्टस फो यु पोखराले विवाहित महिलालाई उनीहरुको क्षमता प्रस्फुटनका लागि कार्यक्रम गरेको जनाएको छ ।
सविता मगर,पोखरा
