किन गुप्ताको ज्यान खतरामा छ ?

Read Time:3 Minute, 57 Second

 
सरकारले तराईमा बढाएको सुरक्षा तैनाथले आफु असुरक्षित भएको भन्दै पूर्व मन्त्रि जेपी गुप्ताले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तलाई पत्र पठाएकाछन । भ्रष्टचार मुद्धामा   जेल सजाय काटेर केही समय अघि रिहा भएका पूर्वमन्त्री गुप्ताले  राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तलाई आफुमाथि असुरक्षा रहेको भन्दै पत्र पठाएका हुन् । उच्चायुक्त नवनिथम पिल्लेलाई लेखेको पत्रमा उनले सरकारले आफ्नो निर्वाध हिंड्न पाउने अधिकार पनि कटौती गरेको दाबी गरेकाछन् ।  
सरकारी निगरानीले निर्वाध हिड्न पाउने मेरो अधिकार कटौती भएको छ , गुप्ताले पत्रमा लेखेका छन्, तराईमा व्यापक सुरक्षाकर्मी परिचालन गरी मानव अधिकार हनन् भएको छ । केही समय अघि गुप्ताले मधेसी नेताहरुले मधेसको हित विपरित काम गरेको भन्दै केही नेताहरुको तस्विरमा रातो क्रस लगाएको पोष्टर सार्वजनिक गरेका थिए । पछिल्लोपटक उनले जारी गरेको वक्तव्यमा मधेसका पांच नेता विजय गच्छदार, महन्थ ठाकुर, महेन्द्र यादव, राजकिशोर यादव र राजेन्द्र महतोविरुद्ध उत्रन मधेसी जनतालाई आह्वान गरेका थिए । उनले ती नेताको तस्बिरमा रातो क्रसचिह्न लगाई उनीहरु नै मधेसका शत्रु भएको आरोप लगाएका थिए ।


 
मधेसी मोर्चामा आबद्ध पांच दलले मधेसका मागविपरीत सत्ताका लागि सरकारसंग सम्झौता गरेको, मधेसी जनतामाथि अपराध गरेको, मधेसका मुद्दालाई बेवास्ता गरेकोजस्ता आरोप लगाउंदै उनले ठाँउठाँउमा कार्यक्रम गरेका थिए । मधेसवादी दलहरुले उठाएको नागरिकताको समस्या, जनसंख्याको आधारमा क्षेत्र निर्धारणजस्ता मागलाई बेवास्ता गरेको भन्दै उनले पांच दलका नेतासंग असन्तुष्टि पोखेका थिए ।
 गुप्ताले तराईका शशस्त्र समुहसंग हिमचिम बढाएर मधेसी नेताहरुमाथी सुरक्षा चुनौती थपेको गुनासो मधेसका नेताहरुले उच्चस्तरीय समितिको बैठकमा राखेका थिए । त्यसपछि गुप्तामाथी सरकारले निगरानी बढाएको हो । गुप्ता तराईका भूमिगत संगठनको मोर्चा बनाउन सक्रिय रहेको सूचनाका आधारमा सरकारले उनीमाथि निगरानी बढाउने निष्कर्ष  निकालेको थियो । त्यस्तो सूचना पाएका गुप्ताले पत्रमा सरकारको उक्त कार्यको विरोध गरेका छन् ।


जेलबाट रिहा भएलगत्तै  उनले तराई मधेस राष्ट्रिय अभियान गठन गरेर जिल्ला दौडाहामा निस्केका थिए । त्यही क्रममा उनले मधेसका सशस्त्र संगठनका नेताहरुसंग  पटक–पटक कुराकानी र सम्पर्क गरेका थिए । गुप्ताले सशस्त्र समूहका नेता गोइतसंग भारतमा वार्ता गरेको सूचना पाएपछि नेपाल प्रहरीको विशेष ब्युरोले निगरानी बढाएको हो । भ्रष्टाचार अभियोगमा जेल गएपछि गुमेको शक्ति आर्जन गर्न तराईका सशस्त्र संगठनहरुसंग सम्पर्क बढाएको अनुमान प्रहरीको छ ।

जगन शर्मा, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %