२ लाख १९ हजार ७ सय ७८ कुखुराको हत्या

Read Time:5 Minute, 6 Second

बर्डफ्लु पंक्षीमा लाग्ने सरुवा रोग हो । तर बर्डफ्लु संक्रमित पंक्षीको संसर्गमा रहेका र मासु सेवन गरेका मानिसलाई पनि बर्डफ्लुको संक्रमण हुनसक्छ । विश्वमा दुई दशकअघिबाट देखिएको बर्डफ्लु नेपालमा भने २०६५ सालयता देखिन थालेको हो । साउन १ गतेयताको १५ दिनमा देशभर २१ वटा र उपत्यकामा १६ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । जसले अहिले जनमानसमा आतङ्क नै सिर्जना गरेको छ ।

नेपालमा पहिलोपटक २०६५ सालमा झापामा बर्डफ्लुको संक्रमण देखिएको थियो । काठमाडौंमा चाहिं गत वर्ष मनोहरा नजिकैको सुकुम्बासी बस्तीमा भेटिएको थियो । तर पछिल्लो दिनमा उपत्यकामा यति धेरैपटक र स्थानमा बर्डफ्लुको जीवाणु भेटिएको छ कि, बर्डफ्लु नभएको स्थान पहिचान गर्न  गाह्रो भइरहेको बताईन्छ । साउन १ देखि १५ गतेसम्मको अवधिमा देशभरका २१ वटा कुखुरा फार्ममा बर्डफ्लुको जीवाणु भेटिएको छ । र, बर्डफ्लु संक्रमित क्षेत्र दिनदिनै बढिरहेका छन् । २०६५ सालयता देशभर १ सय १० वटाभन्दा बढी कुखुरा फार्ममा बर्डफ्लु भेटिईसकेको छ । चालु आर्थिक वर्ष सुरु भएयता उपत्यकामा मात्र काठमाडौंका ११, भक्तपुरका ४ र ललितपुरका एक स्थानमा बर्डफ्लु भेटिईसकेको छ । जसका कारण बर्डफ्लुको संक्रमण निकै फैलिएको र मानिससमेत उच्च जोखिममा रहेका छन् ।


बर्डफ्लुको आतंक बढ्दै जाँदा व्यवसायीहरूले रातारात मरेका र बिरामी कुखुरा बजारमा पठाउने गरेको समाचारहरू पनि सार्वजनिक भइरहेकाछन् । केही दिनअघि मात्र पशु सेवा निर्देशनालयको टोलीले काठमाडौंको बल्खुबाट बर्डफ्लु संक्रमित कुखराहरू नियन्त्रणमा लिएको थियो । ती कुखुराहरू वीरगञ्ज लगिदै थियो । यसरी रातारात बर्डफ्लु लागेका कुखुराहरूको बजारमा बिक्री हुँदा मानिस पनि जोखिममा हुन्छन् । यद्यपि राम्ररी पकाएर खाँदा फरक नपर्ने पशु सेवा निर्देशनालयका कार्यक्रम अधिकृत विजयकान्त झाँको दाबी छ ।
नेपालमा अहिलेसम्म बर्डफ्लु संक्रमित २ लाख १९ हजार ७ सय ७८ वटा कुखुरा मारिसकिएको छ । त्यस्तै ४ लाख १२ हजार ७ सय १० वटा अण्डा, १ सय ८२ केजी मासु,, ४५ हजार १ सय ६९ केजी दाना नष्ट गरिसकिएको पशु सेवा निर्देशनालयले जनाएको छ । साउन १ गतेदेखि १५ गतेसम्ममा उपत्यकामा मात्र १८ हजार ९ सय कुखुरा, ११ हजार २ सय ७२ अण्डा, ७ हजार ७ सय ६५ किलो मासु नष्ट गरिसकिएको छ । हालसम्म कुखुरा नष्ट गरिएवापत निर्देशनालयले ३ करोड १४ लाख २० हजार रुपैया कृषकलाई क्षतिपूर्ति दिइसकेको छ । निर्देशनालयले बर्डफ्लु लागेका अण्डा दिने माउ कुखुराको ५ सय, मासुका लागि पालिएको कुखुराको २ सय ५०, ६ हप्ताभन्दा माथिको बोइलर कुखुराको १ सय ३० र त्योभन्दा कमको ५० रुपैया क्षतिपूर्ति दिने गरेको छ । त्यस्तै अण्डाको प्रतिगोटा ३, मासु एक किलोको सय रुपैया र दानाको प्रतिकिलो १० रुपैया दिंदै आएको छ ।

विश्वमा बर्डफ्लु सन् १९९० को दशकबाट फेला परेको थियो । स्पेनमा त बर्डफ्लु महामारीकै रूपमा फैलिएको थियो ।  यो रोग प्रायः कुखुरामा देखिने गरेको छ । बर्डफ्लु संक्रमित कुखुराको मासु खाँदा वा बर्डफ्लु संक्रमित कुखुराको नजिक रहंदा बर्डफ्लु सर्ने सम्भावना बढी रहन्छ । हुन त कुखुराको मासु राम्ररी पकाएर खाँदा बर्डफ्लु नसर्ने बताइन्छ । तर अहिलेलाई कुखुराको मासु नखानु नै वेस हुने देखिन्छ । यता रातारात बर्डफ्लु संक्रमित कुखुरा बजारमा पठाएर सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेहरूमाथि कडा कारबाही गरिनुपर्छ ।

आनन्द गुरुङ, काठमाण्डु
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %