रुपन्देही साउन १६ ठुला दलका नेताहरु जनतामा जानु भन्दा विदेशमा धाउने गरेको र माओवादी सहितका केही दलहरु चुनावको विरोधमा रहेकाले मंसिर ४ गते दोश्रो संविधानसभा निर्वाचन हुने सम्भावना कम रहेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा पुर्व श्रम तथा यातायात मन्त्री एमएस थापाले बताएकाछन । बुटवलमा पार्टीको केन्द्रीय सम्पर्क र लुम्बिनी राज्य परिषद कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले यस्तो बताएकाहुन ।
आफनो पार्टी चुनावमा जाने हिसाबले तयारीमा रहेको उनले बताए । संघीयता, समावेशीता र धर्म निरपेक्षता जस्ता एजेण्डाहरु एमाओवादीले भन्दा पहिला आफनो पार्टीले उठाएको भन्दै उनले ती एजेण्डाका आधारमा जनताले अबको चुनावमा आफनो पार्टीलाई सम्मानजनक स्थानमा पुर्याउने उनको दावी थियो । उनले भने,’चुनाव भएमा राष्ट्रिय जनमुक्ति पार्टीले कम्तीमा २० सिट जित्छ । ‘उनले संघीयता र समावेशीताले मात्र नपुग्ने भन्दै जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता महत्वपुर्ण हुने बताए ।
संघीय परिषद सदस्य तथा केन्द्रीय सम्पर्क कार्यालयका ईन्चार्ज दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महासचिव केशव सूर्यवंशी, उपमहासचिव चन्द्रबहादुर श्रीस, संघीय परिषद सदस्य रविन्द उच्च नेपाली, होमाया गुरुङ्ग, पदम बहादुर गुरुङ्ग, तमुवान ईन्चार्ज रुद्र बहादुरु गुरुङ्ग, संघीय सभा सदस्य डम्वर बहादुर राना, भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिम बहादुर राना जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, तेश्रो लिङ्गी आजित राना, राष्ट्रिय महिला मोर्चाका महासचिव चन्दा थापा, राष्ट्रिय युवा संघका कोषाध्यक्ष शंकर गाहा लगायतले बोल्दै जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भएमा मात्र हक अधिकार प्राप्त गर्न सकिनेमा जोड दिएका थिए । लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्रप्रसाद रौतारथारुको स्वागत र तिल बहादुर झेडीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राजाहरु हुदैनन राष्ट्रवादी
नेकपा-माओवादीले राजावादीलाई राष्ट्रवादी चित्रण गर्नु गलत भएको भन्दै उनले राजा र राजावादीहरु कहिल्यै राष्ट्रवादी हुन नसक्ने बताए । यदि माओवादीले यस्तो सोंचाई नसच्याएमा आफै पतन भएर जाने दावी गरे । बुधवार बुटवलमै गरिएको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अतर्क्रिया कार्यक्रममा थापाले भने–“निरंकुशताको नाममा राजालाई फालेकाले अहिले आएर त्यही राजालाई राष्ट्रवादी भनिरहेकाछन ।”उनले संबिधानसभा अंगाडी नै संघीयता, राज्य विभाजन जस्ता कुरामा टुङ्गोमा पुगेर संबिधानसभाको निर्वाचन गराए निर्वाचनको सान्दर्भिकता नरहने भएकाले ती विषयमा संबिधानसभाले नै निक्र्यौल गर्नुपर्ने बताए । थापाले न्याय सम्पादनमा समेत कठिनाई आउन सक्ने अवस्था रहेकाेले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधिसको पदबाट राजिनामा गर्नुपर्ने बताए ।
गोविन्द घर्ती, बुटवल
