पोखरा, १४ साउन‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने नारा सहित साउनको दोस्रो सोमबार पनि केदारेश्वर मन्दिरमा जल चढाउन कास्कीसहित छिमेकी जिल्लाहरु स्याङ्गजा, तनहुँ, पर्वत, लमजुङ, बाग्लुङ, पाल्पालगायतका जिल्लाबाट पनि भक्तहरु आएका थिए । बैदामस्थित केदारेश्वर मन्दिरमा जल चढाउन र पूजाआजामा सोमबार दिउँसो अबेरसम्म भक्तहरु लाइनमै बसेका देखिन्थे । ११ औ संस्करणको यस वर्षको बोलबम शिवपथ जलयात्राअनुसार सोमबार गाइघाटदेखि पञ्चेबाजा, झाँकी र भजनकीर्तनसहित बोलबम र्याली निकालिएको थियो ।
गेरुबस्त्र धारण गरेका र्यालीका सहभागीले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए । भक्तहरुले शुक्लागण्डकीमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रासहित बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्दै मनोकांक्षा ब्यक्त गरे ।बोलबम कार्यक्रमलाई ध्यानमा राखेर केदारेश्वर मन्दिरमा गत वर्ष थप १०८ वटा शिवलिंग स्थापना गरिएको मन्दिरका अध्यक्ष सूर्यनाथ अधिकारीले जनाए । गाइघाटबाट बिहान शोभायात्रासहित सुरु भएको बोलबम जलयात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो । शोभायात्रामा भक्तजन सडकमा भजनकीर्तन गर्दै नाचगान गरी मन्दिर पुगेका थिए ।
भजनमा बोलबम भजन,आर्वा भजन, चुरुङ्गा भजन, धर्मजागरण भजन, घार्मी भजन, अन्नपूर्ण भजन, नेपाल मालिका तान्त्रिक परोपकार, फेवा नौमति बाजा, नेपाल लोकभजन चुड्का संरक्षण समितिलगायत भजन टोलीले मन्दिर परिसरमा दिनभर भक्तजनलाई नचाएका थिए । भजनमा विदेशी पर्यटकहरु पनि खुबै रमाइलो मानेर नाचेका थिए । भक्तजनलाई यसपटक पोखरा कवाड व्यवसाय संघ कास्कीले प्रसादको व्यवस्था मिलाएको थियो । बोलबम जलयात्राका सहभागीलाई पनि पोखराका विभिन्न चोकचोकमा सर्वतपानीको व्यवस्था रहेको मन्दिरका सचिव खिमबहादुर पहारीले जानकारी दिए । यता, लामो समय लाइनमा बसेर पनि भक्तहरुले शिवलिङ्गमा जल चढाएको मन्दिरका पुजारी इन्द्र पौडेलले बताए । उनका अनुसार अघिल्ला वर्षका तुलनामा महिलाको तुलनामा पुरुषको पनि संख्या बाक्लो छ ।
बोलबममा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय क्लब तथा आमा समूहको पनि उत्तिकै सक्रियता रहेको थियो ।यस्तै पृथ्वी होटेल व्यवसायी समितिका अध्यक्ष रिजन शेरचनले गाइघाटसम्मका लागि भक्तजनलाई निःशुल्क बस सेवा मिलाएका छन् । जसबाट छोरेपाटनदेखि गाइघाट एकतर्फी जान भक्तजनलाई सहज मिलेको भक्तजन बताउँछन् । यस वर्ष साउनका चार वटा सोमबार परेको छ । अब आगामी साउन २१ र २८ गतेका सोमबार पनि यसप्रकारको कार्यक्रम हुने मन्दिरका उपाध्यक्ष दयानन्द पोखरेलले जनाए ।
बिजय नेपाल, पोखरा
