हेमा आले ‘बोगी’, मगर साहित्याकारमा एक जना उदाउँदो नक्षेत्र । मगर साहित्यमा लामो समयदेखि कलम चलाईरहेकि बोगीको हालसम्म मगर भाषामा दुई वटा कृति बजारमा छ। यसअघि ‘रिक्मा’(कलम)नामक गजल संग्रह र हालैमात्र ‘लर्फुओ मिच्याट’(पछ्यौरीको टुक्रो) आहान गोमक (कथा संग्रह) बजारमा ल्याएकि ‘बोगी’, नेपाल मगर लेखक संघ केन्द्रिय समितिको सदस्य पनि हुन् ।
‘बोगी’ सँग राज्यसत्ता डट कमका नवलपरासी सम्वाददाता प्रेमध्वज गाहा मगरले उनको पछिल्लो कृति ‘लर्फुओ मिच्याट’ को सन्दर्भमा रहेर कुराकानी गरेका छन् –
मगर भाषाकै साहित्यमा कलम चलाउने जाँगर कसरी आयो ?
सर्वप्रथम त म मगरको सन्तान भएको नाताले मगर भाषा र संस्कृति प्रति मेरो गहिरो रुचि र लगाव छ । अनि पछिल्लो समयमा समाजलाई बुझ्दै जाने क्रममा राज्यको अन्य भाषामाथिको बिभेदकारी नीतिले गर्दा भाषाहरु बिस्तारै लोप हुँदै जाने र बोल्ने मानिसहरुको संख्या पनि कम हुँदै जाने र भाषा र संस्कृति मर्दै गएपछि एकदिन सम्वन्धित जातिको अस्तित्व नै संकटमा पर्ने देखेपछि भाषा संरक्षण गर्न र भावी पुस्तालाई भाषा हस्तान्तरण गर्ने ध्येयले पनि मगर भाषामा कलम चलाउन थालेँ, कलम चलाउन थालेको धेरैपछि कृतिहरु निकालेँ ।
खासमा तपाईको यो पछिल्लो कृति ‘लर्फुओ मिच्याट’कस्तो खालको कृति हो ?
यो मगर भाषाको कथा संग्रह हो । यसमा जम्मा नौ वटा कथाहरु संगृहित छन् । अहिलेसम्म यो समाजमा एउटा मगरको बच्चा भएर जीवन भोग्दै गर्दा जातिय बिभेद, बिकृति र बिसंगति देखेँ समाजका त्यही कुराहरुलाई बुनेर यो कथासंग्रह तयार गरेको छु । आम पाठकहरुको आफ्नै जीवनभोगाईलाई कथाहरु मार्फत उतार्ने प्रयास गरेको छु । अर्को बिशेषता के छ भने २०५० सालमा नेपाल मगर लेखक सँघले मगर भाषालाई देवनागरीमा लेख्ने एउटा मानक निर्धारण गर्यो तर त्यस मानकमा रहेर लेखन गर्दा कतिपय पाठकहरुलाई बुझ्न गार्हो भएको प्रतिकृया आएपछि मैले यो मेरो कृति क्षेत्रगत वा आञ्चलिक हिसावमा जस्तो बोलिन्छ त्यसरी नै लेखेको छु त्यसले गर्दा यो मेरो कृति अरु भन्दा बोधगम्य पनि छ ।
तपाईको यस कथा संग्रहले समाजको कुन पक्षलाई समातेको छ ?
पक्कै पनि साहित्य भनेको जीवन हो मेरो बुझाइमा । जीवन भनिसकेपछि तत्कालीन समाजमा मानिसहरुले जिइरहेको समय, परिवेश, घटना, सन्दर्भहरु हुन् । समाजमा ब्याप्त बिभिन्न समस्याहरुलाई नै मैले मेरा कथाहरुको बिषय बस्तु बनाएको छु ।त्यो युवाहरुको समस्या हुन सक्छ, जातिय समस्या वा लैँगिक हिंसा वा अन्य पनि हुन सक्छ ।
भनेपछि यसमा लैँगिक समानताको मुद्दा पनि पढ्न पाईन्छ ?
मगर लेखिका भैसकेपछि मगर समाज, मगर संस्कृति नै साहित्यको मुल बिषय हुनुपर्छ भन्ने पनि होला । तर समाजमा बसिसकेपछि एउटा मान्छे भएर बाँचिरहँदा हरेक कुराहरुसँग अन्तर्रसम्बन्धित भइदो रहेछ । कस्तो छ भने हामी मगर महिलाहरु राज्यको बिभेदकारी नीतिले गर्दा जातिय बिभेद खेपिरहन बाध्य त छँदै छौँ अर्कोतर्फ महिला भएकोले मगर समाज भित्रै पनि लैँगिक हिँसाबाट पनि पीडित छौँ । यसरी हामी दोहोरो मार खेपिरहेका छौँ । त्यसले गर्दा मेरा सिर्जनाहरुमा लैँगिक कुराहरुले पनि ठाउँ पाएका हुन् ।
के का लागि लेख्नुहुन्छ ?
म आत्म सन्तुष्टिको लागि लेख्छु । मैले सहज रुपमा भन्न नसकेका कुराहरुलाई, मेरा बिचारहरुलाई सम्प्रेषण गर्न पनि लेख्ने गर्छु ।
मगर भाषामा लेखेर गल्तिगरे भन्ने त लागेकोछैन ?
मैलै खस भाषामा लेखे पनि हुन्थ्यो होला । तर हरेकले आफ्ना सन्तानलाई खस भाषा नै बोल्न उत्प्रेरित गरी राखेका छन्, मातृभाषा बोल्दा खस भाषामा दक्षता हुँदैन भन्ने मान्यताले मगर भाषालाई बिस्थापन गरिरहेको अवस्था छ । साहित्य नै मगर भाषामा लेखिएपछि पक्कै पनि त्यो नै मगर समुदायको लागि ठुलो कुरा हो जस्तो लाग्छ । बोलीमा मात्र सीमित भएको मगर भाषामा आफ्नो बिचार मात्र लेख्दिए पनि आगामी पुस्ताको मगर भाषा प्रति मोह बढाउन सकिन्छ ।
मोफसलमा बसेर, त्यो पनि राज्यले उपेक्षा गरेको समुदायगत भाषामा साहित्य लेखन गर्न तपाई जस्तो श्रष्टालाई कत्तिको गार्हो छ ?
धेरै गार्हो छ । नेपाली खस भाषाको साहित्यलाई प्रकाशन देखि लिएर बिक्री बितरण र प्रबद्र्धनमा राज्यस्तरबाटै प्रोत्साहन हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन लगायतका सबैले सहयोग गर्छन् तर भाषिक र जातिय मुद्दा बोक्ने अन्य समुदायगत भाषाका साहित्यलाई प्रकाशन नगरिदिने बिक्री बितरणको जिम्मा नलिइदिने गर्छन बरु उल्टा हतोत्साही गरिदिने काम हुन्छ । भाषाभाषीका साहित्यलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन नआएसम्म हामी जस्तो श्रष्टाहरुलाई यस्तो गार्हो त भइ नै रहन्छ ।
यस्तो किन भए जस्तो लाग्छ ?
मुलतः नेपालमा जातिय बिभेद छ । ब्यक्तिको क्षमतालाई भन्दा पनि जातिको आधारमा मुल्याङ्कन हुने गर्दछ । मुख्य कुरा त के हो भने यदि कुनै जनजाति श्रष्टाले भाषिक वा जातिय मुद्दा उठायो भने उसको समुदायको पनि सत्ता सञ्चालन वा नीति निर्माण तहमा पहुँच पुग्छ अनि हामी मिनिमाइज हुनुपर्ला भन्ने सत्ताधारी जातिहरुको साम्प्रदायिक सोँचले पनि यस्तो भएको हो भन्ने मेरो ठहर छ ।
पछिल्लो जनगणना अनुसार करिव उन्नाइस लाख मगर मध्ये जम्मा पुग नपुग आठ लाखले मात्र भाषा बोल्ने गरेको देखियो, यस्तो अवस्थामा मगर भाषामा लेखिएका साहित्यको क्षेत्र कत्तिको उर्वर देख्नुभएको छ ?
पक्कै पनि मगर भाषा बोल्नेहरुको सँख्या कम हुनु भनेको भाषा बुझ्नेको संख्या कम हुनु हो र बुझ्नेको संख्या कम हुनु फेरि मगर भाषाको साहित्य पढ्ने पाठकहरु कम हुनु हो । यो भनिरहँदा यो तथ्याँक बिश्वसनीय तथ्याँक हो भन्ने मलाई लाग्दैन, एकातर्फ हाम्रो जातिय र भाषिक सँख्या कम देखाउन राज्य नै सुनियोजित रुपमा लागेको छ भने अर्कोतर्फ हामी आफै भाषा आए पनि बोल्न र अभ्यासमा ल्याउन छाड्दै गइरहेका छौँ अनि बोलिन्छ कि बोलिँदैन भनेर सोद्धा बोलिँदैन भन्ने उत्तर दिन्छौँ । यसरी हाम्रो भाषिक सँख्या कम देखिएको हो । भाषिक साहित्यको क्षेत्र कति उर्वर भन्ने सन्दर्भमा चाहिँ के भनौँ भने हाम्रो मान्छेहरुमा पुस्तकमा खर्च गर्ने बानी बसिसकेको छैन, बिस्तारै त्यो पनि होला र भाषिक साहित्यको क्षेत्र पनि उर्वर बन्दै जाला भन्ने आशा छ ।
मगर भाषा र साहित्यको बर्तमान अवस्था कस्तो देख्नुभएको छ ?
बर्तमान अवस्थामा मगर भाषा सँरक्षण र सम्बद्र्धनका लागि धेरै कृयाकलाप भैरहेका छन् । त्यसैगरी मगर साहित्य पनि अहिले सम्म खालि सँख्यात्मक बृद्धिका लागि लेखिँदै आएकोमा ५० को दशकयता गुणात्मक बृद्धि तर्फ पनि ध्यान दिइन थालिएको छ । जसलाई एउटा सकारात्मक पक्ष मान्न सकिन्छ । तर यति धेरै जातिय र भाषिक संख्या भएको मगरहरुको साहित्यको पाटो भने सन्तोषजनक छैन ।
मातृभाषामा कलम चलाउन रुचि भएका नव श्रष्टा र पाठकहरुलाई भन्नु के छ ?
सबैभन्दा पहिला त आफ्नो भाषा सँस्कृति माथि गौरव गर्न सिकौँ । अरु भन्दा हामी बिशेष छौँ भाषाले गर्दा । हाम्रो यो अमुल्य सम्पत्तिलाई लेख्य रुपमा पनि जोगाऔँ । आफ्नो भाषामा कृति नै निकाल्न सकियो भने भाषा संरक्षणमा एउटा र्इटा थपे जस्तो हुन्छ । बातावरण सहज बन्दै गएको छ । आर्थिक हिसावले पनि लेखेरै बाँच्न सकिने अवस्था पनि आउला । एउटा सकारात्मक सोँच राखेर कलम चलाउनोस, नव श्रष्टाहरुलाई मेरो भन्नु यही छ । र, पाठकहरुलाई चाहिँ मगर भाषा र साहित्यका पुस्तकहरु किनेर पढ्नोस् र मगर साहित्यलाई माया गर्दिनोस् भन्न चाहन्छु ।