प्रधानसेनापति गौरवशमशेर राणा आज उत्तर छिमेकी चीन भ्रमणमा जाँदैछन् ।
चिनिया जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफ फाङ फेङहुइको निमन्त्रणामा १० दिने भ्रमणका लागि राणा त्यसतर्फ जान लागेकाहुन् । प्रधानसेनापति राणा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै थाई एयरको विमानबाट जाने बताइएकोछ ।
सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच सैनिक नेतृत्व तहमा भइरहेको भ्रमणको निरन्तरता स्वरुप राणा चीन जान लाग्नुभएको जनाईएको छ ।

निर्देशनालयका अनुसार भ्रमणका क्रममा चीनले नेपाली सेनालाई सहयोग स्वरुप २ वटा मोबाइल हस्पिटल प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । मोबाइल हस्पिटल प्राकृतिक विपद व्यवस्थापनका लागि उपयोगी हुने बताइएको छ । यसअघि हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापनि राणाको चीन भ्रमणलाई स्वीकृति प्रदान गरेको थियो । प्रधानसेनापति नियुक्त भएपछि राणा यसअघि भारत भ्रमणमा गएकाथिए ।
आनन्द गुरुङ, काठमाण्डु
