नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनजातिहरुलाई आन्दोलनका लागि उक्साएको आरोप लगाएका छन् । आफ्ना माग पूरा गर्न आदिवासी जनजातिलाई सडकमा जान सुझाव दिएर प्रचण्डले गैरजिम्मेवारपुर्ण चरित्र देखाएको उनको आरोप छ । विगतकै आधारमा संविधानसभामा सिट संख्या कायम गरिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन गएका जनजाति नेता कार्यकर्तासंग कांग्रेस सभापति कोइरालाले प्रचण्डको उक्साहटमा नलाग्न पनि सुझाव दिए । संविधान सभा विघटन अघि पनि उनले जातिय संघीयताको पक्षमा आफ्नो पार्टीले सहयोग गर्ने भन्दै जनजातीहरुलाई आन्दोलनमा जान उचालेका थिए ।
जिम्मेवार नेताले आन्दोलनका लागि उक्साउनु गैरजिम्मेवार काम भएको कोइरालाको भनाई थियो । जनजातिहरुको ज्ञापनपत्र बुझ्दै हिजो एकीकृत माओवादी अध्यक्ष प्रचण्डले जनजातिहरुको आन्दोलनमा आफ्नो समर्थन रहने आफ्ना माग पूरा गराउन आन्दोलनमा जान जनजाति नेताहरुलाई उक्साएका थिए ।
कोइरालाले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले केही न केही त्याग गर्नुपर्ने भन्दै जनजातिहरुको उत्थानका लागि आफ्नो पार्टी सक्दो सहयोग गर्न तयार रहेको बताए । विगतको संविधान सभाको निर्वाचनका आधारमा यसपटक सिट संख्या घटाइने भएपछि नेपाल आदिवासी जनजाति महासघंले संम्बन्धित निकायहरुलाई सिटसंख्या नघटाउन आग्रह गर्दै आएको छ ।
जगन शर्मा, काठमाण्डु
