नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार र चार राजनीतिक दल वार्ताका लागि गम्भीर नभएको आरोप लगाएकाछन् । किरणजीत बुढाथोकीले लेखेको पुस्तक ‘नाटक नै यथार्थमा बदलियो’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष वैद्यले चार राजनीतिक दल र सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाएको हो । वैद्यले गोलमेच सम्मेलन, २५ बुदे बाधाअड्काउ फुकाउ, ११ बुदे सहमति र खिलराज रेग्मी बर्खास्तीको आफ्नो माग यथावत रहेको भन्दै सर्त राखेर वार्तामा सहभागी नहुने बताए ।
फरक प्रसंगमा अध्यक्ष वैद्यले तत्काल एकीकृत माओवादीसग पार्टी एकता नहुने बताए । हालै चीन भ्रमणबाट फर्कएका वैद्यले चीनले पार्टी एकताका लागि दबाब दिएको भन्ने कुरा गलत भएको जिकिर गरे ।
चीनले नेपालको राजनीतिक संक्रमण छिटो अन्त्य भएको हेर्न चाहेको वैद्यको भनाइ थियो । भ्रमणका क्रममा भएका भेटघाटमा चिनिया नेताहरूले संक्रमण अन्त्यका लागि सबै राजनीतिक दल मिल्नुपर्ने धारणा राखेको उनको भनााई थियो ।
विमोचित पुस्तकमा जनयुद्धमा युवाहरूका बलिदानलाई मुख्य कथावस्तु बनाइएको छ भने जनयुद्धका यथार्थ घटनाको सजिव चित्रण गरिएको छ ।
आनन्द गुरुङ
