आमा,बाउ,छोरीको संयुक्त गीत गुन्जन

 १ जुलाई । फिक्कल–३ मा वृद्धाश्रम तथा पुस्तकालय स्थापनार्थ गणेश–यशोदा–निर्जला पराजुलीको सांगीतिक कार्यक्रम हुने भएको छ ।११ अगष्टको साँझ हेनरी जी ल्योङ याउमाते कम्युनिटि हलमा सम्पन्न हुने कार्यक्रमको पोष्टर सार्वजनिक गर्ने क्रममा पराजुली दम्पत्तिले छोरी निर्जला पराजुलीको विशेष प्रस्तुति रहने जानकारी गराएका थिए ।

  ‘आफ्नो ठाउँको विकासको लागि सहयोग गरौं भन्ने कार्यक्रमको उद्देश्य त हो नै’, गायक तथा संगीतकार गणेश पराजुलीले भने, ‘त्यो संगै छोरीलाई हङकङको स्टेजमा उतार्ने पनि हो ।’अहिलेसम्म स्थानीय स्टेजमा छोरी देखा नपरेको भए पनि पराजुलीद्वयको प्रस्तुति नेपाली गीत–संगीतका पारखीले निकै पटक अनुभव गरिसकेका छन् । एशियन भिलेजदेखि शुरु भएको दम्पत्तिको रेष्टुरेण्ट गायन सूर्य, संगीतलगायतसम्म फैलिएको थियो ।

  कङ्गन रेष्टुरेण्टमा आयोजित पोष्टर सार्वजनिक समारोहमा पराजुलीले निर्जलाको दुई गीति संग्रह सार्वजनिक भइसकेको बताउँदै विभिन्न गायन प्रतियोगितामा भाग लिइरहेको जानकारी गराएका थिए । उनका अनुसार निर्जला काठमाडौंमा प्लस टु अध्ययनरत छिन् ।  सोही अवसरमा कार्यक्रम आयोजक इलाम समाजका अध्यक्ष बसन्त राईले जिल्ला र जिल्लाबासीको सहयोगको लागि संस्था पछि नपर्ने बताउँदै कार्यक्रम सफल बनाउँन सम्पूर्णलाई आग्रह गरेका थिए ।

किसन राई